Logo

पेट्रोलको हाहाकार : निजी पम्प बन्द, सरकारीमा लाईन, कालोबजारीलाई प्रश्रय दिँदै निगम

पेट्रोलको हाहाकार : निजी पम्प बन्द, सरकारीमा लाईन, कालोबजारीलाई प्रश्रय दिँदै निगम



काठमाडौं । अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्दैगर्दा नेपालमा भने पेट्रोलियम पदार्थको ’सर्टेज’ भएको छ । पछिल्लो एकहप्तादेखि काठमाडौंमा पेट्रोलको सर्टेज बढ्दै गएकोमा आईतबारदेखि प्रायःजसो निजी पेट्रोल पम्पले पेट्रोल बिक्री गर्न छाडेका छन् ।

सोमबार बिहान ११ बजेसम्म पनि निजी स्तरबाट संचालित पम्पले पेट्रोल नभएको भन्दै गेटमा प्लेकार्ड झुण्डाएर बसेका छन् भने कतिपय पम्ले ताल्चा नै लगाएर बसेका छन् । सरकारीस्तरबाट संचालित पम्पहरुले पेट्रोल वितरण गरेपनि घण्टौंसम्म लाईनमा बस्नुपर्ने बाध्यता छ । विशेषगरी नेपाली सेना तथा नेपाल प्रहरी र सशत्र प्रहरीद्वारा संचालित पम्पमा पेट्रोल भर्ने सवारीसाधनको लामो लाईन रहेको छ भने निजी पम्मले ताल्चा नै लगाएर बसेका छन् ।

petrol

पछिल्लो समय विश्वभर फैलिएको कोरोना भाइरसका कारण भारतसँगको नाकाबन्दीको हल्लाले गर्दा उपभोक्ताले पेट्रोलियम पदार्थ खरिदगर्ने क्रम बढेसँगै केही समस्या परेको पेट्रोलियम डिलर्स एशोसिएशनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानले जानकारी दिए । ‘यसअघि नाकाबन्दी भोगेका नेपालीलाई फेरी पनि कोरोनाका कारण नाकाबन्दी भएमा पेट्रोल पाइदैन भन्ने मनसायले अघिपछिका तुलनामा २५ प्रतिशतभन्दा बढी पेट्रोल स्टकमा राख्नेगरी फुल ट्याङ्क भर्न थालेका छन्,’ उनले भने, ‘जसको प्रभावले गर्दा पेट्रोलियम पदार्थ वितरणमा समस्या देखिएको हो ।’

यसैगरी अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आएको गिरावटको कारण नेपालमा पनि मूल्य घट्ने भएकाले पम्पहरुले डिपोबाट कम तेल उठाएको हुँदा पनि तत्कालका लागि समस्या देखिएको प्रधानले जानकारी दिए । ‘स्वचालित मूल्य समायोजन अन्तरगत हरेक महिनाको १५÷१६ तारिकमा इण्डियन आयल कर्पोरेशनले मूल्य समायोजन पठाउने र सोही अनुरुप नेपालमा पनि मूल्य निर्धारण हुने हुँदा पम्पहरुले मूल्य घट्नेभन्दै धेरै पेट्रोल उठाएनन्,’ उनले भने, ‘पम्पले कम तेल उठाउने र उपभोक्तामा नाकाबन्दीको डरले बढी पेट्रोलका माग गर्दा तत्कालका लागि बजारमा सर्टेज देखिएको हो ।’

यसैगरी पेट्रोलियम पदार्थ आयात गरी सप्लाई गर्ने निकाय नेपाल आयल निगमले भने आफुहरुसँग प्रयाप्त मात्रामा स्टक भएको र बजारमा पेट्रोलियम पदार्थको अभाव हुन नदिने बताएको छ । ‘केही प्राविधिक समस्याले गर्दा तत्कालका लागि बजारमा पेट्रोलियम पदार्थको अभाव देखिएको हो,’ निगमका प्रवक्ता विरेन्द्र गोईतले बिजखबरसँग भने, ‘सम्भवत आजै दिउसोदेखि उपभोक्तालाई सहजरुपमा पेट्रोलियम पदार्थ उपलब्ध गराउनेछौं ।’


मूल्य घट्दा वा बढ्दा पम्पहरुले उपभोक्तालाई सहज रुपमा पेट्रोल उपलब्ध गराउनुपर्नेमा मूल्य घट्ने समाचारले पम्पहरुले डिपोबाट तेल नउठाउदा पनि निगम मुकदर्शक बनेर बसेको सम्बद्ध सरोकारवालाहरु बताउँछन् । ‘मूल्य बढ्दा पम्पहरुले पेट्रोल होल्ड गरेर बस्छन् भने मूल्य घट्ने संकेत पाउँदा निगम व्यवस्थापनकै मिलेमत्तोमा पम्पहरुले डिपोबाट तेल उठाउँदैनन्,’ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले भने, ‘यस्तो अवस्थामा बजारमा पेट्रोलियम पदार्थको सर्टेज हुन नदिन निगमले अग्रसरका देखाउनुपर्दथ्र्यो तर पम्पवालाहरुसँग मिलेर मुकदर्शक बनेर बसेको छ ।’ निगमले व्यवसायीको मिलेमत्तोमा बजारमा पेट्रोलियम पदार्थको कृतिम अभाव गराएर कालोबजारीलाई प्रश्रय दिएको समेत उनको दावी छ ।

प्रतिक्रिया दिनुहोस्
MBL