Logo

बजारमा लसुनको बिक्री ठप्प : कालीमाटीमा कारोबार बन्द, मूल्यसूचीबाटै हटाईयो लसुन

बजारमा लसुनको बिक्री ठप्प : कालीमाटीमा कारोबार बन्द, मूल्यसूचीबाटै हटाईयो लसुन



काठमाडौं । नेपाली उपभोक्ताको भान्साको प्रिय बस्तुको रुपमा रहेको लसुन अहिले धेरै भान्सामा दुर्लभ बन्दै गएको छ । नेपाली बजारमा एकैपटक ३ सयदेखि ४ सय प्रतिशतसम्म मूल्य बढेपछि नेपाली बजारमा लसुन देखिन छोडेको छ ।

पछिल्लो ५ दिनयता फाट्टफुट्ट देखिएपनि नेपाली भान्सामा लसुन प्रयोग शून्य सरह भएको छ । पछिल्लो करिव १ हप्तादेखि कालिमाटी बजारबाटै लसुनको कारोबार हुन छोडेको छ । गत हप्ताको बुधबार सुकेको चिनियाँ लसुन ५ सय ५५ रुपैयाँ थोक मूल्य र ६ सय ३५ रुपैयाँ खुद्रा मूल्यमा विक्री भएको थियो ।

त्यसयता कालीमाटी तरकारी बजारबाट सुकेको लसुनको व्यापार नभएको कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिका सुचना अधिकारी विनय श्रेष्ठले जानकारी दिए । उनका अनुसार पछिल्लो ५ दिनदेखि बजारमा सुकेको लसुनको कारोबार बन्द भएको छ । कारोबारै हुन छोडेको छ । नेपाली बजारमा भारतीय लसुन खपत कम मात्रै हुन्छ ।

नेपाली लसुनभन्दा भारतीय लसुन मसिनो हुनेगरेका कारण भारतीय लसुन नेपाली बजारमा खपत हुँदैन । तर, चिनियाँ लसुन र नेपाली लसुनले धानेको हालसम्मको बजार चिनियाँ लसुन आउन छोडेपछि कारोबार नै बन्द हुन पुगेको सूचना अधिकारी श्रेष्ठले बिजखबरलाई जानकारी दिए ।

मूल्यसूचीबाट हटाईयो लसुनको मूल्य

बजारमा लसुनको कारोबार हुन छोडेपछि कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिले मूल्यसूचीमा नै लसुनको मूल्य राख्न छोडेको छ । समितिका सूचना अधिकारी विनय श्रेष्ठले बजारमा कारोबार हुन छोडेपछि मूल्य सूचीमा लसुन राख्न छोडेको बताएका हुन् ।

समितिले गत बुधबार चिनियाँ लसुनको र माघ १ गते नेपाली लसुनको मूल्य सूची राखेको थियो । चिनियाँ लसुन बजारमा कारोबार हुन छोडेको १ हप्ता पुग्ना लाग्दा नेपाली लसुनको कारोबार बन्द भएको १ महिना पुग्न लागेको समितिले जानकारी दिएको छ ।

चीनमा महामारीका कारण मूल्यवृद्धि

पछिल्लो पटक चीनमा महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाईरसका कारण नेपाल लगायतका धेरै देशहरुमा चिनियाँ बस्तुको आयात ठप्प जस्तै भयो । निर्यात ठप्प भएपछि चिनियाँ लसुनको ठुलो बजारको रुपमा रहेको नेपालमा लसुनको आयात समेत ठप्प भयो ।

सोही अनुसार लसुनको अभाव हुन थालेपछि बजारमा लसुनको मूल्य एकाएक आकाशियो । माघ १ गतसेम्म सुकेको नेपाली र चिनियाँ लसुन प्रतिकेजी २ सय ४५ रुपैयाँ रहेकोमा गत हप्ताको बुधबारसम्म आईपुग्दा चिनियाँ लसुनको प्रतिकेजी ६ सय ३५ रुपैयाँसम्म पुगेको छ । बजारमा लसुनको मूल्य ७ सयदेखि साढे सात सयसमम पुगेको उपभोक्ता बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्