Logo

विदेशी मुद्रा सहटीमा कडाईको प्रभाव : घट्यो रेमिटान्स बढ्यो हुण्डी, अर्थतन्त्रमा खतराको घण्टी

विदेशी मुद्रा सहटीमा कडाईको प्रभाव : घट्यो रेमिटान्स बढ्यो हुण्डी, अर्थतन्त्रमा खतराको घण्टी



काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा संचिती बढाउनका लागि नयाँ नयाँ उपायहरु ल्याएसँगै त्यसको प्रत्यक्ष असर नेपाल भित्रने रेमिटान्समा परेको छ । विदेशी मुद्रा संचितीमा गिरावट आएसँगै राष्ट्र बैंकले विदेश घुम्न जाने, वैदेशिक रोजगारीमा जाने नेपाली तथा टीटीमार्फत गरिने आयातमा डलर सुविधा घटाएको थियो । राष्ट्र बैंकले उक्त डलर सुविधा घटाएसँगै नेपाल भित्र्ने रेमिटान्स हुण्डी लगायत अनौपचारिक प्रणालीबाट भित्रन् थालेको सम्बद्ध सरोकारवालाहरु बताउँछन् ।

पछिल्लो समय विदेश घुम्न जाने नेपाली तथा टीटीको सटही सुविधामा गरिएको कडाईका कारण एजेन्टहरुले विदेशमै रमक संकलन गरेर त्यस्ता रकम भ्रमण तथा सामान आयातमा खर्च गर्न थालेको उक्त स्रोतको दावी थियो । डलर सटही सुविधामा गरिएको कडाईको कारण वैधानिक प्रणालीबाट नेपाल भित्रनपर्ने रेमिटान्स विदेशमै परिचालन हुँदा त्यसले अर्थतन्त्रमै नकारात्मक असर पार्ने सम्बद्ध विज्ञहरु बताउँछन् ।

रेमिटान्स आप्रबाहमा आएको गिरावटको कारण तरलता, लगानी योग्य पूँजी र ब्याजदरमा बढि चाप पर्ने नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशन नरबहादूर थापा बताउँछन् । ‘राष्ट्र बैंकले विदेशी मुद्रा संचिती बचाउनका लागि जनु नीति अबलम्बन गर्यो त्यसको असर नेपाल भित्र्ने रेमिटान्समा देखियो,’ उनले भने, ‘जसको प्रभाव समग्र अर्थतन्त्रमा पर्ने देखिन्छ ।’

अहिले बजारमा डलर तथा भारुको संकट हुँदा त्यसको परिपूर्तिका लागि सेवाग्राहीले हुण्डीमार्फत कारोबार गर्ने क्रम बढेको समेत उनको दावी थियो । राष्ट्र बैंकले विदेश भ्रमणमा जाने नेपालीले पाउँदै आएको २५ सय डलर सटही सुविधालाई घटाएर १५ सय डलरमा झारेको छ भने वैदेशिक रोजगारीमा जाने कामदारले पाउँदै आएको ५ सय डलर सटही सुविधालाई २ सयमा झारिएको छ ।

यसैगरी टीटीमार्फत सामान आयात गर्दा पाउने डलर सटही सुविधालाई ३० हजारमा झारिएको छ भन पछिल्लो समय टूर प्याकेजको डलर सटही सुविधा पनि घटाईएको छ । राष्ट्र बैंकले त्यसरी डलर सटही सुविधा घटाउँदा सेवाग्राहीहरु त्यसको परिपूर्तिका लागि अनौपचारिक प्रणालीमा जान बाध्य भएका छन् । जसको फलस्वरुप नेपाल भित्र्ने रेमिटान्समा गिरावट अएको हो । साथै क्यापिटल फ्लाईटको समेत समस्या देखिन थालेको थापाले जानकारी दिए ।

पछिल्लो समय नेपाल भित्र्ने रेमिटान्समा खतराको घण्टी बज्न सुरु गरेको नेपाल मुद्रा विप्रेषक संघका अध्यक्ष तथा आईएमई रेमिटका प्रमुख कार्यकारी अघिकृत सुमन पोखरेलले जानकारी दिए । ‘केही समययता लगातार बढिरहेको रेमिटान्स वृद्धिदर अहिले सिजनमै पनि घट्न पुगेको छ,’ उनले भने, ‘यो सिजनमा सामान्यतया पनि १५/२० प्रतिशतको वृद्धिदर हुनुपर्नेमा उल्टो घटेर खतराको घण्टी बजाएको छ ।’

विशेषगरी नेपालजस्तो रेमिटान्समा निर्भर अर्थतन्त्र भएको मुलुकमा यसरी रेमिटान्स आप्रबाह घट्दा समग्र मुलुककै अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्ने उनको दावी थियो । रेमिटान्स आप्रबाह घट्दा देशको अर्थतन्त्र चलायमान बनाउनै कठिन हुने उनले जानकारी दिए । ‘विशेषगरी नेपाली कामदारको प्रमुख गन्तव्य मुलुक मलेशियाको रोजगारी विगत डेड बर्षदेखि बन्द हुँदा त्यसको प्रभाव अहिले देखिन थालेको छ,’ उनले भने, ‘यहि क्रम रहने हो भने अझै ६ महिनादेखि १ बर्ष नेपाल भित्र्ने रेमिटान्समा उच्च गिरावट आउनेछ ।’

यसैगरी नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष तथा आईएमई ग्रूपका अध्यक्ष चन्द्रप्रसाद ढकालले पनि नेपाल भित्र्ने रेमिटान्सका एक्कासी गिरावट आउँदा समग्र अर्थतन्त्रमा असर पार्ने बताए । ‘पछिल्लो तथ्याङ्क अनुसार नेपाल भित्र्ने रेमिटान्समा जसरी गिरावट आएको छ यो भनेको नेपाली अर्थतन्त्रमा खतराको घण्टी बझ्नु हो,’ उनले भने, ‘यदि यस विषयमा हामी समयमै सचेत हुन सकेनौ भने अर्थतन्त्र चलायमान बनाउननै कठिन हुनेछ ।’

गत बर्ष कोरियाको रोजगारीमा गएका कामदारले औपचारिक प्राणालीबाट रेमिटान्स पठाउँदा देशमा भित्र्न रेमिटान्स घटेको नदेखिएपनि मलेशियाको रोजगारी भएको बन्दको प्रभाव आगामी दिनमा ठूलो प्रभाव पार्ने उनले जानकारी दिए । पछिल्लो समय बैधानिक प्रणालीबाट रेमिटान्स आउने क्रम बढेपनि मलेशियाको रोजगारी बन्द हुँदा ठूलो प्रभाव रहेको उनको तर्क थियो ।

रेमिटान्स आप्रबाहमा गिरावट आउँदा सचेत हुन संकेत गरेपनि अर्थमन्त्रै खतरा भने नपुग्ने नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले जानकारी दिए । ‘रेमिटान्स आप्रबाह घट्दा पक्कै पनि विदेशी मुद्राको प्रवाहमा असर पार्छ,’ उनले भने, ‘राष्ट्र बैंकले विदेशी मुद्राको संचिती बढाउन नीतिगत रुपमै सुधार गर्दैछ ।’ कुनै समय देशमा रेमिटान्स नआउँदा पनि मुलुकको अर्थतन्त्र चलेको जानकारी दिँदै अहिले केही गिरावट आउँदैमा त्यति ठूलो असर नपर्ने उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्