काठमाडौं । पछिल्लो समय देशको आर्थिक अवस्था नाजुक बन्दै गएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्याङकले देशको आर्थिक स्थिती नाजुक बन्दै गएको देखाएको हो ।
पछिल्लो समयको बढ्दो व्यापारघाटा, उच्च शोधनान्तर घाटा तथा विदेशी विनिमय संचितीमा गिरावट आएसँगै यसले देशको अर्थतन्त्रमा नकारात्मक सन्देश दिएको हो । मुख्य मुख्य आर्थिक परिसुचकहरु नकारात्मक देखिएँसगै यसले देशको आर्थिक अवस्था विकराल स्थितीमा पुग्ने सम्बद्ध सरोकारवालाहरु बताउँछन् ।
तथ्याङ्क अनुसार पछिल्लो एक पहिनामा मात्र शोधनान्तर घाटा साढे २२ अर्ब रुपैयाँले बढेको छ । आर्थिक बर्ष २०७५/७६ को १० महिनामा ६८ अर्ब २० करोड रुपैयाँमा रहेको देशको शोधनान्तर घाटा ११ महिनामा आईपुग्दा बढेर ९० अर्ब ८० करोड रुपैयाँमा पुगेको छ ।
यसैगरी सो अबधिमा चालु खाता घाटा विस्तार भई २ अर्ब ४८ अर्ब ७२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २ खर्ब १० अर्ब २४ करोड रहेको थियो ।
यसैगरी सो अबधिमा कुल विदेशी विनिमय सञ्चितीमा पनि गिरावट आएको छ । २०७५ असार मसान्तमा ११ खर्ब २ अर्ब ५९ करोड रुपैयाँ विदेशी मुद्रा संचिती रहेकोमा २०७६ जेठ मसान्तमा आईपुग्दा घटेर १० खर्ब ३० अर्ब ८८ करोड रुपैयाँमा झरेको छ । कुल विदेशी विनिमय सञ्चितीमध्ये नेपाल राष्ट्र बैंकमा ८ खर्ब ८५ अर्ब ८३ करोड रहेको छ । बैंक तथा वित्तीय संस्थाहरू १ खर्ब ४५ अर्ब ५ करोड रुपैयाँ रहेको छ ।
संचिति पर्याप्तता सूचकहरू आर्थिक वर्ष २०७५/७६ को एघार महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ८ दशमलव ८ महिनाको वस्तु आयात र ७ दशमलव ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । उक्त तथ्याङकले नेपालको आयात गर्नसक्ने क्षमता समेत संकुचन हुँदै गएको देखाएको छ ।
साथै सो अबधिमा प्रत्यक्ष वैदेशिक लगानीमा पनि गिरावट आएको छ । गत आबको ११ अर्ब ११ अर्ब ८१ करोड रुपैयाँको प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । जुन अघिल्लो बर्षको सोही अबधिमा १५ अर्ब ८८ करोड रुपैयाँ भित्रिएको थियो ।
पछिल्लो समय निर्यातको तुलनामा आयात अनुपात उच्च रुपमा बढेसँगै त्यसले केही संकट निम्त्याउन सक्ने नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादूर थापा बताउँछन् । तर पछिल्लो समय भइरहेको पूर्वाधार विकास, माथिल्लो तामाकोशी जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा रहेकोजस्ता कार्यले गर्दा देशको शोधनान्तर घाटा बढ्दा धेरै ठूलो असर नपर्ने उनको तर्क छ । ‘विकास निर्माणको चरण र कतिपय आयोजना कार्यान्यनको अन्तिम चरणमा पुगेका कारण शोधनान्तर घाटा बढ्नु स्वभाविक हो,’ उनले भने, ‘हामीले विकास निर्माणका लागि आवश्यक सामग्रीहरु सबै आयात गर्नुपर्ने हुन्छ यस्तो अवस्थामा शोधनान्तर घाटा बढ्दा आतिनु हुँदैन ।’ तर, पछिल्लो समय विदेशी विनिमय संचितीमा भने दबाब परेको उनको तर्क थियो ।
तर, यस्तो अवस्थामा व्यापाघाटा न्यूनिकरण तथा शोधनान्तर घाटा न्यून गर्नका लागि सरकारले आयातमा रोक लगाउने नहुने उनको भनाई छ । ‘विकास निर्माणको चरणमा हामीले आयातमा रोक लगाउँदै आएका छौं,’ उलने भने, ‘यो ठिक होइन यसले विश्व बजारमा नकारात्म सन्देश जानेछ भने विदेशी लगानी भित्र्याउन झन बढि समस्या हुनेछ ।’ आयातलाई स्वतस्फूर्त रुपमा छाडिदिनुपर्ने समेत उनको भनाई छ ।
साथै अबका दिनमा सरकारले विदेशी सहयोग तथा प्रत्यक्ष वैदेशिक लगानी ल्याएर परिचालन गर्नुपर्ने उनको सुझाव छ । पछिल्लो समय १२ खर्ब ९९ अर्बको बस्तु आयात हुँदा ८७ अर्ब ८३ करोड रुपैयाँको मात्र निर्यात हुँदा यसले समस्या निम्त्याउने भन्दै अबमा दिनमा सरकारले निर्यात नीतिमा सुधार गर्नुपर्ने उनी बताउँछन् ।