Logo

धितोपत्र बोर्डले माग्यो ‘कमोडिटी मार्केट’ संचालनको लागि आवेदन, दुई वटालाई मात्र संचालन अनुमति

धितोपत्र बोर्डले माग्यो ‘कमोडिटी मार्केट’ संचालनको लागि आवेदन, दुई वटालाई मात्र संचालन अनुमति



काठमाडौं । धितोपत्र बोर्डले बस्तु विनिमय बजार (कमोडिटि मार्केट) संचालनका लागि आवेदन माग गरेको छ । बस्तु विनिमय बजार सम्बन्धी ऐन २०७४ अनुसार बोर्डले कमोडिटी एक्सचेञ्ज कम्पनी दर्ताका लागि आवेदन माग गरिएको बोर्डका कार्यकारी निर्देशक तथा प्रवक्ता निरज गिरीले जानकारी दिए ।

उनका अनुसार कमोडिटी मार्केट संचालन गर्न चाहनेले भएको व्यवस्था बमोजिम सुचना प्रकाशित भएको मितिले २ महिनाभित्र आवेदन दिनुपर्ने छ । देशको अर्थतन्त्रको आधार, औद्योगिक व्यवसायको विकास, बस्तु कारोबारको सम्भाव्यता तथा लगानीकर्ताको हित संरक्षणजस्ता विषयलाई मध्यनगर गरी बोर्डले कमोडिटी एक्सचेञ्ज संचालनका लागि अनुमति प्रदान गर्न लागेको हो ।

कम्पनीको चुक्ता पूँजी र रणनीतिक साझेदार, प्रस्तावित प्रविधि, व्यवसायिक योजना, संस्थागत स्वामित्व संलग्नता र व्यवस्थापनको योग्यताजस्ता विषयहरु स्पष्ट रुपमा खुलाएका आवेदन दिनुपर्ने समेत बोर्डले जानकारी दिएको छ ।

बोर्डले पहिलो चरणमा दुई वटा कम्पनीलाई मात्र अनुमति प्रदान गर्न भएको छ । धेरै कम्पनीको आवेदन आएपनि उनीहरुलाई उत्कृष्टताको आधारमा छनौट गरी दुई वटा कम्पनीलाई मात्र अनुमति प्रदान गरिने गिरीले जानकारी दिए । ‘हाम्रो सुचना अनुसार जति पनि कम्पनी अनुमति लिनका लागि बोर्डमा आवेदन दिन सक्छन्,’ उनले भने, ‘तर तत्कालका लागि हामीले दुई वटा कम्पनीलाई मात्र संचालन अनुमति दिनेछौं ।’

यस अघि बोर्डको विभिन्न ५ वटा कम्पनीले कमोडिटी मार्केट संचालनका लागि अनुमति दिएका थिए । तर, ती कम्पनीहरुले तोकिएको मापदण्ड अनुसार आवेदन नदिएकाले त्यसलाई रद्द गर्दै पुनः अर्को आवेदन माग गरिएको बोर्डले जानकारी दिएको छ । हाल कमोडिटी एक्सचेञ्ज सम्बन्धी सम्पूर्ण नीति नियम बनिसकेकाले आवेदन आएको केही समयभित्र अनुमित प्रदान गरी संचालनमा ल्याईने समेत गिरीले जानकरी दिए ।

ऐन अनुसार बस्तु विनिमय बजार संचालनका लागि न्यूनतम चुक्ता पूँजी ५० करोड रुपैयाँ हुनुपर्नेछ भने ७ जना संचालक रहने व्यवस्था छ । कुनै पनि कम्पनीले बोर्डबाट प्राप्त गरेको ६ महिनाभित्र तोकिएको पूर्बाधार राखी कम्पनी संचालनमा ल्याउनुपर्ने छ । तर वेयर हाउस सञ्चालनको लागि आवश्यक पर्ने पूर्वाधार बोर्डले तोके बमोजिम हुनेछ । ऐन अनुसार कुनै पनि कम्पनीले ६ महिनाभित्र पूर्वाधार तयार गर्न नसकेमा बोर्डले बढीमा ९० दिनको समयसिमा थप गर्न सक्नेछ ।

नेपालमा कमोडिटी मार्केट सञ्चालनका लागि व्यवसायिक घराना, उच्चपदस्थ अधिकारीदेखि गैर आवासीय नेपालीलेसम्म ईच्छा देखाएका छन । धेरै कम्पनीले इच्छा देखाएपनि तत्कालका लागि नेपालको बजार अनुसार दुई भन्दा बढी कम्नपीलाई आवेदन दिने नसकिने बोर्डको तर्क छ ।

यस अघि बोर्डमा कमोडिटी मार्केट संचालनका लागि कमोडिटी एक्सचेन्ज, नेपाल मर्कन्टाइल एक्सचेन्ज, कमोडिटी फ्युचर एक्सचेन्ज, मल्टी डेरिभेटिभ एक्सचेन्ज लिमिटेड र राइजल कमोडिटी एन्ड डेरिभेटिभ एक्सचेन्ज लिमिटेडले आवेदन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्