Logo

सिएनआई अध्यक्ष शर्माको गुनासो ‘तास खेल्न पाएनौं’, अर्थसचिव भन्छन् ‘तास खेल्न दिदैनौं’

सिएनआई अध्यक्ष शर्माको गुनासो ‘तास खेल्न पाएनौं’, अर्थसचिव भन्छन् ‘तास खेल्न दिदैनौं’



काठमाडौं । नेपाल उद्योग परिसङ्घ (सिएनआई)का अध्यक्ष हरिभक्त शर्माले नेपालका उद्योगीले हरेक समय ‘टेन्सन’मा मात्र काम गर्नुपरेको बताएका छन् । कर तिर्नुपर्ने प्रक्रियादेखि हरेक किसिमको व्यवस्थापनमा बिहानैदेखि रातिसम्म टेन्सनमै बिताउनुपरेको उनको गुनासो छ । शनिबार सातौं राष्ट्रिय कर दिवसको औपचारीक उद्घाटनका क्रममा उनले सरकारले उद्योगीको समस्या समाधान गर्न सहजकर्ताको भूमिका निभाउनुपर्ने आग्रह गरे ।

उद्योगीले धेरै समय व्यस्त भएर समस्याकाबीच काम गर्नुपरेको भन्दै उनले भने ‘अरु साथीहरु तास खेलिरहँदा हामी तास खेल्न पनि पाउँदैनौं’ । त्यस्तै उनले आफू उद्योगी भएर भन्दा व्यापारी भएर काम गरेको भए धेरै पैसा कमाएको स्थितिमा पुगिसकेको हुने उनको भनाई थियो । कार्यक्रममा उनले कर छली गर्ने व्यवसायलाई ‘अनहाइजेनिक’ भन्दै सबैले आफ्नो कर तिर्ने दायित्व पुरा गर्नुपर्ने सुझाव दिएका थिए ।

कर दिवसको कार्यक्रममा शर्मा पछि मन्तव्यका लागि आएका अर्थसचिव डा. राजन खनालले सरकारले निजी क्षेत्रलाई सहयोग पुग्ने गरी कर प्रणाली व्यवस्थित गरिरहेको जानकारी दिए । उद्योगीलाई व्यापारमा नभई उद्योगधन्दा मै पे्ररित गर्ने सरकारको नीति भएको पनि उनले बताए ।

शर्माको गुनासोलाई सम्बोधन गर्दै उनले सरकारले उद्योगीलाई तास खेल्न जाने वातावरण नबनाई कर तिर्ने वातावरण बनाउन सक्रिय रहेको बताए । शर्मालाई लक्षित गर्दै उनले भने ‘तपाई तास खेल्न जानुभयो र हार्नुभयो भने कर तिर्ने पैसा पनि गुम्छ त्यसैले हामी तास खेल्न जान दिदैंनौं’ ।

कार्यक्रममा सचिव खनालले सरकार र निजी क्षेत्र एउटै रातो कार्पेटमा हिंड्दा मैलो नलाग्ने गरी हिड्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL