काठमाडौं । पछिल्लो समय सरकारले विदेशबाट सुन आयतमा कडाई गरेसँगै सुन तस्करले नयाँ बाटो अपनाएका छन् । सुन तस्करले वैदेशिक रोजगारीमा गएका कामदारलाई फर्जी बिल बनाएर सुनका गहना बोकाएर पठाउने गरेको समाचार स्रोतले जानकारी दिएको छ ।
सरकारले चालू आर्थिक बर्षको बजेट बक्तव्यमार्फत वैदेशिक रोजगारीमा गएका कामदारलाई भन्सार महशुल तिरेर १ सय ग्रामसम्म सुन ल्याउन पाउने व्यवस्था गरको थियो । तर, तस्करहरुले वैदेशिक रोजगारीमा गएर फर्केका कामदारलाई नेपालबाटै फर्जी बिल बनाएर पठाई सोही बिल अनुरुपका गहना नेपाल भित्र्याउने गरेका हुन् ।
उक्त स्रोतका अनुसार त्यसरी सुन ल्याउँदा तस्करले एउटै कामदारलाई २० देखि ४० तोलसम्म सुन बोकाएर पठाउने गरेका छन् । ‘हामीलाई सम्बन्धित देशबाट नेपालीले नै बिल अनुसार गहना बनाएर लगाएर पठाउँछन्,’ वैदेशिक रोजगारीबाट फर्किएका एक कामदारले भने, ‘त्यसरी गहना लगाएर आउँदा अध्यागमनका कर्मचारीले सोधेमा गहना अनुसारको पुरानो मितिको बिल देखाएर आउने गरेका छौं ।’
फर्जी बिल देखाएर गहना लगाएर आउँदा उक्त सुनको भन्सार समेत तिर्न नपर्ने भएका कारण पछिल्लो समय सुन तस्करीको मुख्य आकर्षण नै फर्जी बनाएर वैदेशिक रोजगारीबाट फर्कने कामदारमार्फत सुन आयात गर्ने भएको छ । त्यसरी सुन ल्याउँदा कामदारलाई प्रतितोला २ हजार रुपैयाँका दरले पैसा दिने गरेका छन् । साथै तस्करहरुले वैदेशिक रोजगारीमा जान लागेका कामदारलाई गहना अनुसारको नेपालबाटै फर्जी बिल बनाएर पठाउने गरेको समेत उक्त स्रोतको भनाई थियो । साथै कतिपय तस्करहरुले विदेशी स्थित सुन पशलको नेपालबाटै बिल बनाएर पठाउने गरेको समेत उक्त स्रोतले जानकारी दिएको छ ।
नेपाल सरकारको कमजोरीका कारण पछिल्लो समय नेपालमा सुन तस्कर बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहन सुनुवारले जानकारी दिए । ‘वैदेशिक रोजगारीमा जाने कामदारले अध्यागमनमा आफ्नो विस्तृत जानकारी भरेर गएका हुन्छन्,’ उनले भने, ‘ती कामदार फर्कदा पहिला भरेको विवरणसँग दाज्ने हो भने कसरी तस्करीले कामदारमार्फत सुन ल्याउन सक्छन् ।’ कर्मचारीको घुस खाने र सोझा जनतालाई थर्काएर उनीहरुले ल्याएको सामानमा अनावश्यक किचलो गर्ने बानीका कारण तस्करीहरु मौलाएको समेत उनको तर्क थियो । कर्मचारीको व्यवहार र सरकारी संयन्त्रमा सुधार नआएसम्म तस्करी नरोकिने समेत उनले जानकारी दिए ।
यसैगरी अर्थ मन्त्रालयका राजस्व सचिव शिशिर ढुङ्गाना भने यो नौलो विषय भएको र अबका दिनमा थप अनुसन्धान गरिने बताउँछन् । ‘अहिलेसम्म वैदेशिक रोजगारीमा गएका कामदारले कति र कसरी सुन आयात गरिरहेका छ त्यो अध्यागमनलाई थाहा हुन्छ,’ उनले भने, ‘नेपालबाटै फर्जी बिल बनाएर सुन आयात गरेको अवस्थामा सम्बद्ध सुन पशलहरुमा छापा मारेर बिलबिजकको समेत अनुसन्धान गर्नेछौं ।’