Logo

बिमस्टेकमा रक्सौंल–काठमाडौं रेलमार्गको सम्झौता, भारतले १३० किलोमिटर रेलमार्ग निर्माण गर्ने

बिमस्टेकमा रक्सौंल–काठमाडौं रेलमार्गको सम्झौता, भारतले १३० किलोमिटर रेलमार्ग निर्माण गर्ने



काठमाडौं । रक्सौंल काठमाडौं रेलमार्गको पूर्व सम्भाव्यता अध्ययनका लागि नेपाल र भारत सरकारबीच सम्झौता हुने भएको छ ।

रेल विभागका ईन्जीनियर किरण कार्कीका अनुसार करिब १ सय ३० किलोमिटर लामो सो रेलमार्गको सम्भाव्यता अध्ययनका लागि भारत सरकारसँग सम्झौता हुने भएको हो ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिम्स्टेक) सम्मेलनमा रक्सौंल काठमाडौं रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन (प्रि फिजिविलिटी स्टडी) का लागि द्धिपक्षीय सम्झौता (एमओयु) हुने भएको हो ।
भदौ १४ र १५ गते हुने विम्स्टेक सम्मेलनमा भारतीय पक्षसँग सो सम्झौता गर्न विभागले तयारी थालेको ईन्जीनियर कार्कीले जानकारी दिए ।

सम्मेलनको अवसरमा नेपाली पक्षले भारतीय पक्षसँग उक्त रेलमार्गको सम्झौता गर्न फाईल समेत तयार गरी भौतिक पूर्वधार तथा यातायात मन्त्रालय पठाई सकेको छ ।

पूर्व सम्भाव्यता अध्ययनले लागत, निर्माण गर्नका लागि लाग्ने समयावधी लगायतका प्राविधिक विषयहरु समेट्ने छ । सम्भवत सम्झौता लगतै अध्ययनको काम थालिने कार्कीले जानकारी दिए ।

भारतीय सहयोगमा रेलमार्ग निर्माण गर्ने सम्झौता भएपनि ऋण वा अनुदानमा हुने भन्ने विषयमा टुङ्गो लागेको छैन । सोे रेलमार्गको २० प्रतिशत भाग पुल र टनेलमा निर्माण गर्नुपर्ने प्रारम्भिक अनुमान रहेको ईन्जीनियर कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL