Logo

उत्तरी ध्रुवबाट पहिलोपटक सामुद्रिक कन्टेनर जहाज सञ्चालन हुँदै, एसिया र युरोप जोड्ने

उत्तरी ध्रुवबाट पहिलोपटक सामुद्रिक कन्टेनर जहाज सञ्चालन हुँदै, एसिया र युरोप जोड्ने



काठमाडौं । डेनमार्कको सामुद्रिक कन्टेनर जहाज निर्माता मर्स्कले उत्तरी धु्रवको आर्कटिक महासागर हुँदै पूर्वी एसिया र युरोप जोड्ने गरी कन्टेनर जहाज सञ्चालन गर्ने भएको छ । कम्पनीले मंगलबार आफ्नो यस्तो योजना सार्वजनिक गरेको हो ।

कम्पनीले हालै निर्माण गरेको भेन्ता मर्स्क नामको जहाज रसियाको भ्लादिभोस्तोकबाट यसै महिनाको अन्त्यमा छुट्नेछ । यो रसियाको उच्च क्षेत्र हुँदै सेन्ट पिटर्सबर्गसम्म पुग्नेछ ।

‘अहिलेसम्म पत्ता नलागेको रुटमा कन्टेनर जहाज सञ्चालन र त्यसको वैज्ञानिक डाटा प्राप्त गर्ने यो एउटा परिक्षण मात्रै हो’ मर्स्कले आफ्नो विज्ञप्तिमा उल्लेख गरेको छ ‘अहिले हामीले प्रयोग गरिरहेका रुटको विकल्पमा उत्तरी सामुद्रिक रुटलाई विकल्पमा रुपमा हेरिरहेका छैनौं’ ।

कम्पनीका अनुसार तीन हजार ६ सय कन्टेनर बोक्न सक्ने भेन्ता मर्स्कलाई माइनस २५ डिग्री सेल्सियसको चीसो तापक्रममा पनि अडिन सक्ने गरी डिजाइन गरिएको छ । यसले आफ्नो परिक्षणका क्रममा चिसाइएको माछा र केही अन्य सामग्रीको कन्टेनर बोक्नेछ । यी सामान युरोपको बाल्टिक समुद्रमा पुर्याइनेछ ।

यो सामुद्रिक जहाजका २६ जना क्रु सदस्यलाई अत्यन्त कठिन अवस्थासँग जुध्न सक्नेगरी विशेष तालिम पनि प्रदान गरिएको छ ।

मर्स्कले तत्कालका लाग उक्त रुटमा व्यावसायिक सेवा सुरु गर्ने योजना भने नरहेको स्पष्ट पारेको छ । यो रुट वर्षमा तीन महिना मात्र प्रयोगका लागि योग्य मानिन्छ । आर्कटिक क्षेत्रको अवस्था नियन्त्रण गर्न पनि यस्तो काममा धेरै लगानी आवश्यक पर्ने कम्पनीले जनाएको छ ।

आर्कटिक सागरलाई वैकल्पि रुटका रुपमा स्थापित गर्न सकिने आधार भने मौसमविज्ञानको मोडलले दिएको छ । उक्त मोडलको प्रक्षेपण अनुसार उत्तरी धु्रव यो शताब्दीको मध्यतिरका वर्षका केही समय पूर्ण रुपमा आइस मुक्त हुनेछ ।

पातलिदैं गएको हिउँले विश्वव्यापी व्यापारका लागि भने नयाँ मार्ग खोलिदिएको छ । यसले खासगरी कम्पनीहरुलाई लामो यात्रामा हुने खर्च कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

मर्स्कको प्रतिस्पर्धि मानिने चीनको सरकारी कोस्कोले पनि आर्कटिक रुटमा कन्टेनर जहाज सञ्चालनको लागि बर्षौ अघिदेखि प्रयास गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्