काठमाडौं । आर्थिक बर्ष २०७४/७५ मा मुद्रास्फीति घटेको छ । अघिल्लो आर्थिक बर्षमा उपभोक्ता मुद्रास्फीति ४ दशमलव ५ प्रतिशत रहेकोमा गत आबमा घटेर ४ दशमलव २ प्रतिशतमा सिमिति भएको छ ।
तर गत आबमा बिन्दुगत मुद्रास्फीति भने बढेर ४ दशमलव ६ प्रतिशत पुगेको छ । अघिल्लो आबमा यस्तो मुद्रास्फिति २ दशमलव ७ प्रतिशतमा सिमित रहेको थियो । वार्षिक औसतभन्दा विन्दुगत मुद्रास्फीति बढी हुँदा आगामी दिनमा मुद्रास्फीति दवावमा रहन सक्ने राष्ट्र बैंकले जानकारी दिएको छ ।
गत आबमा क्षेत्रगत आधारमा बार्षिक औसत उपभोक्ता मुद्रास्फीति हिमालको सबैभन्दा बढी रहेको छ । हिमालको मुद्रास्फीति ५ दशमलव ९ प्रतिशत हुँदा पहाडको ४ दशमलव ६ प्रतिशत र तराईको ४ दशमलव ४ प्रतिशत रहेको छ । तर सो अबधिमा काठमाडौं उपत्यकाको मुद्रास्फीति सबैभन्दा कम ३ दशमलव ३ प्रतिशत रहेको छ ।
आब २०७४/७५ को औसत मुद्रास्फीति आर्थिक वर्ष २०६१/६२ पछिको सबैभन्दा न्यून भएको राष्ट्र बैंकले जानकारी दिएको छ । आपूर्ति व्यवस्थापनमा आएको सुधार तथा भारतमा समेत न्यून मूल्यवृद्धि रहेको कारण समीक्षा वर्षमा समग्र उपभोक्ता मुद्रास्फीतिमा कमी आएको हो ।