Logo

डलर भाउ बढ्दा रेमिटान्स आप्रबाह बढ्यो, १ बर्षमा भित्रियो ७५५ अर्ब

डलर भाउ बढ्दा रेमिटान्स आप्रबाह बढ्यो, १ बर्षमा भित्रियो ७५५ अर्ब



काठमाडौं । आर्थिक बर्ष २०७४/७५ मा नेपाल भित्र्ने रेमिटान्स वृद्धिदर ८ दशमलव ६ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार नेपालमा ७ खर्ब ५५ अर्ब रुपैयाँ रेमिटान्स भित्रिएको छ । अघिल्लो आर्थिक बर्षमा विप्रेषण आप्रवाह वृद्धिदर ४ दशमलव ६ प्रतिशतमा समेटिएको थियो ।

पछिल्लो समय अन्तरराष्ट्रिय बजारमा डलरको मूल्य बढेसँगै नेपाल भित्र्ने रेमिटान्स आप्रबाहमा पनि वृद्धि भएको हो । नेपालबाट वैदेशिक रोजगारीमा जाने कामदारको संख्यामा क्रमिक रुपमा गिरावट आएपनि डलर भाउ बढ्दा नेपाल भित्रने रेमिटान्स भने बढ्न पुगेको हो ।

नेपाल भित्र्ने रेमिटान्सको वृद्धिदर साढे ८ प्रतिशत हुँदै ७ खर्ब ५५ अर्ब भित्रिएपनि अघिल्लो बर्षको तुलनामा कुल ग्राह्स्थ्य उत्पादनसँगको अनुपात भने घटेको छ । पछिल्लो समय नेपालको जीडीपीको आकार बढेसँगै त्यस्तो अनुपातमा गिरावट आएको हो ।

अघिल्लो वर्ष विप्रेषण आप्रवाहको कुल गार्हस्थ उत्पादनसँगको अनुपात २६ दशमलव ३ प्रतिशत रहेकोमा गत आबमा पाइपुग्दा घटेर २५ दशमलव १ प्रतिशतमा झरेको छ ।

गत आबमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा १० प्रतिशतले गिरावट आएको छ । गत आबमा कुल ३ लाख ५८ हजार नेपाली कामदार वैदेशिक रोजगारीमा पुगेका छन् । अघिल्लो वर्षको यस्तो गिरावट ४ दशमलव ७ प्रतिशतले मात्र घटेको थियो ।

गत आबमा मलेसिया, संयुक्त अरब ईमिरेट्स, कुवेत लगायतका देशमा जाने कामदारको संख्यामा वृद्धि भएको छ भने साउदी अरेविया, कतार लगायतका देशमा जाने कामदारको संख्यामा गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्