Logo

हवाई यात्रुको दुर्घटना बीमा अब एक करोड ७२ लाख, उडान ढिला भए सात लाख पाइने

हवाई यात्रुको दुर्घटना बीमा अब एक करोड ७२ लाख, उडान ढिला भए सात लाख पाइने



काठमाडौं । हवाई यात्राको जोखिम कम गर्दै यात्रुप्रति उडान कम्पनीको दायित्व बढाउने उद्देश्यसहित सरकारले ‘अन्तरराष्ट्रिय हवाई परिवहन विषयक नियमहरु एकिकरण गर्ने सम्बन्धमा व्यवस्था भएको महासन्धि’ बुधबार संसद सचिवालयमा दर्ता गराएको छ । संसदबाट उक्त महासन्धि पारित भएमा नेपाल पनि मन्ट्रियल महासन्धिको पक्ष राष्ट्र बन्ने बाटो खुला हुनेछ ।

महासन्धि पारित भएपछि हवाई यात्रुको सुरक्षा सम्बन्धमा मन्ट्रियल महासन्धिबाट पारित सबै किसिमका बिमा सुविधा नेपाली हवाई यात्रुले प्राप्त गर्न सक्नेछन् । यस्तो बिमा आन्तरिक उडानमा भने लागु हुने छैन ।

मन्ट्रियल महासन्धि अनुसार पछिल्लो पटक सन् २००९ मा व्यवस्था गरिएको बीमा सुविधाको लाभ नेपाली यात्रुले प्राप्त गर्न सक्ने भएका हुन् । उक्त महासन्धिको पक्षधर राष्ट्र नहुँदा नेपाली हवाई यात्रुले अन्तरराष्ट्रिय उडानका क्रममा भएका जोखिममा प्राप्त गर्ने बीमा सुविधा निकै कम मात्र थियो । महासन्धिमा नेपालले हस्ताक्षर गरेपछि भने यसकै व्यवस्था अनुसार बीमा रकम सुविधा प्राप्त हुनेछ ।

महासन्धिमा उडानका क्रममा यात्रुको मृत्यु अथवा शारीरिक चोटपटक लागेमा एक लाख ५८ हजार ३ सय ४० डलर अर्थात एक करोड ७२ लाख ६९ हजार रुपैयाँ बीमा रकम प्राप्त गर्नेछन् । त्यस्तै ब्यागेजको नोक्सानी, क्षति वा बिलम्ब भएमा एक लाख ७२ हजार ६ सय रुपैयाँ बीमा रकमको व्यवस्था छ ।

उडान तालिका अनुसार उडान नभई यात्रामा ढिलाई भएमा ६ हजार ५ सय ७१ डलर अर्थात ७ लाख १६ हजार रुपैयाँ यात्रुलाई उडान कम्पनीले बीमा रकम उपलब्ध गराउनुपर्ने मन्ट्रियल महासन्धिमा उल्लेख छ ।

सन् १९९९ मे मा क्यानडाको मन्ट्रियल सहरमा हवाई यात्रुको सुरक्षा सम्बन्धि पारित गरिएको महासन्धिलाई नै मन्ट्रियल महासन्धि भनिन्छ ।

महासन्धिमा ५६ धारा छन् । अन्तरराष्ट्रिय नागरिक उड्ययन संगठनका १९१ सदस्य राष्ट्रमध्ये १३१ राष्ट्रले यसको पक्षमा हस्ताक्षर गरेका छन् । हवाई यात्रुको सुरक्षा सम्बन्धमा नेपाल यसअघि वार्शा महासन्धि र हहेग प्रोटोकलको सदस्य राष्ट्र बनेको थियो । तर यी दुवैको पक्ष राष्ट्र भएपनि यात्रुमैत्री नहुँदा समस्या आएको भन्दै नेपालले मन्ट्रियल महासन्धिको पक्षधर राष्ट्र बन्न संसदमा दर्ता गराएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL