Logo

पाँच महिनाभित्र गुड्दैछ रेल, भाडामै भएपनि सञ्चालन गर्ने विभागको तयारी

पाँच महिनाभित्र गुड्दैछ रेल, भाडामै भएपनि सञ्चालन गर्ने विभागको तयारी



काठमाडौं । अहिले रेल र पानीजहाजको व्यापक चर्चा छ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशभित्र रेल सञ्जाल विस्तार गर्ने र यसलाई छिमेकी देशसँग जोड्ने विषय आफ्ना भाषणमा सकेसम्म छुटाउँदैनन् ।

रेल विभाग पछिल्लो समय प्रधानमन्त्रीको यस्तो योजनामा काम पनि गर्दैछ । भारत र चीन जोड्ने रेल बाहेक विभाग यसअघि सञ्चालनमा आइसकेको जनकपुर जयनगर रेल सञ्चालनको करिब नजिक पुगेको छ । तयारी अनुसार अबको ५ महिना भित्रै रेल संचालनमा ल्याउने विभागले जनाएको छ । विभागका अनुसार मंसिरभित्र उक्त दुरीको रेल सञ्चालनमा आइसक्नेछ ।

करिब ३५ किलोमिटर दुरीको जनकपूरदेखि जयनगरसम्मको उक्त रेल सेवा सञ्चालनमा ल्याउन सबै तयारी पुरा भइसकेको विभागले जनाएको छ । रेल भाडामा लिएर भएपनि सञ्चालनमा ल्याउने विभागको तयारी छ ।

रेल विभागका ईन्जिनियर किरण कार्कीका अनुसार ३५ किलोमिटर रेल मार्गमा ८ वटा टिकट काउण्टर रहने छ । त्यस्तै ३ वटा हल्ट स्टेशन तथा ५ वटा स्टेशन रहनेछ ।

ब्रिटीसहरुले सामान ओसारपसार गर्ने र व्यापार विस्तारको लागि निर्माण गरेको जनकपुर जयनगर रेलमार्गलाई पुनः निर्माण गरी रेल विभागले पुुनः संचालनमा ल्याउन लागेको हो । मोटरबाटोको विस्तार सँगै उक्त रेलमार्ग बन्द हुन पुगेको थियो ।

नेपालमा सन् १९२७ मा पहिलोपटक रेल सेवा सुरु भएको थियो । पछि उक्त सेवा सन् १९७० मा बन्द भएको थियो । जनकपुर जयनगर रेल सेवा भने सन् २०१३ बाट बन्द भएको थियो । उक्त रेल सेवा सन् १९३७ देखि सञ्चालनमा आएको थियो ।

प्रतिक्रिया दिनुहोस्