काठमाडौं । नेपाल टेलिकमले पुर्वाञ्चलमा ७ सय ५ ओटा फोरजीका टावर सञ्चालनमा ल्याउने भएको छ । पुर्वाञ्चल क्षेत्रमा टेलिकमको एक्चेन्च सेवाको उद्घाटन गर्दे कम्पनीका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले पूर्वाञ्चल क्षेत्रमा ७ सय ५ वटा फोरजीका टावर सञ्चालनमा ल्याउने बताएकी हुन् । यससँगै कुल १२ लाख ६० हजार ३ सय ५ लाइन क्षमता र हाल सम्मकै उच्च गतिको इन्टरनेट तथा भ्वाइस सेवा उपलब्ध गराईने भएको उनको भनाई थियो ।
उक्त सेवाको उदघाटन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले नेपाल टेलिकमलाई गुणस्तर, राजस्व र प्रतिष्ठामा नेपाल टेलिकम सधै एक नम्बरमै भइरहनु पर्ने बताए । यसका साथै उनले कम्पनीमा क्रियाशील युनियनहरुले अधिकार खोज्ने मात्र नभई, कर्तव्यको पनि पालना गर्नु पर्ने बताए ।
कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले विभागीय मन्त्रीबाट भएको निर्देशन कार्यान्वयन गर्ने प्रतिवद्धता ब्यक्त गर्दै प्रविधिको दु्रत परिवर्तन, ग्राहकको बढ्दो चाहना र प्रतिस्पर्धात्मक बजार जस्ता कम्पनीका वर्तमान चुनौतीको सामना गर्न सम्पूर्ण कर्मचारीहरुलाई इमान्दारीताका साथ आफ्नो कर्तव्य पालनामा क्रियाशील हुन आग्रह गरिन ।
कम्पनीले ग्राहकहरुको सन्तुष्टिलाई प्राथमिकता दिने, सेवाको मर्मत सम्भारलाई अझ छिटो छरितो पार्ने र कम्तीमा १० प्रतिशत ग्राहक संख्या र कम्तीमा १० प्रतिशत राजस्व वृद्धि गर्नका लागि पर्न कर्मचारीलाई आग्रह गरेकी छन । पूर्वाञ्चल क्षेत्रको निरीक्षण भ्रमणका क्रममा मन्त्री बास्कोटाले झापा जिल्लाको खुदुनावारीमा जडान गरिएको एम सान एक्सचेन्ज को पनि उद्घाटन गरेका थिए । उक्त एक्सचेन्जमार्फत तत्काल एडीएसएल सेवा सहितको १ सय ४४ लाइन टेलिफोन वितरण गर्न सकिने छ ।
उक्त अवसरमा झापा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पवित्रा निरौला खरेलले सर्भे भइसकेका क्षेत्रमा बीटीएस टावर निर्माण गर्न र सर्भे नभएका स्थानमा सर्भे गरी भरपर्दो दूरसञ्चार सेवा उपलब्ध गराउन टेलिकमलाई आग्रह गरेकी छन ।