Logo

पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल बनाउन चीनबाट भित्रिन थाल्यो सामग्री, रसुवागढी नाकामा आईपुगे सामान

पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल बनाउन चीनबाट भित्रिन थाल्यो सामग्री, रसुवागढी नाकामा आईपुगे सामान



काठमाडौं । पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल निर्माणका रसुवागढी नाकाबाट सामान आउने क्रम शुरु भएको छ ।

निर्माणका लागि हालै २६ वटा टिपर र दुईवटा पानी ट्याङकर रसुवागढी नाकामा आइसकेकोमा १४ वटा टिपर चिनियाँ नाका पार गरी रसुवाको घट्टेखोला आइपुगेको चिनियाँ कम्पनी चाइना सिएएमसी इन्जिनियरिङतर्फबाट रसुवागढी भन्सार प्रतिनिधि दोर्जे तामाङले बताएका छन ।

उनका अनुसार अन्य १२ वटा टिपर र दुईवटा पानी ट्याङकर भने चिनियाँ भन्सार कार्यालयबाट नेपाल आउने प्रक्रियामा छन । विमानस्थल निर्माणकै लागि अन्य ४० वटा निर्माणका सवारीसाधन केरुङ आइसकेको बताउँदै उनले ती सामग्री पनि केही दिनमा नै प्रक्रिया पुर्याएर नेपाल ल्याउने बताए ।

चिनियाँ लगानीकर्ता एक्सपोर्ट–इम्पोर्ट (एक्जिम) बैंकले विमानस्थल निर्माणका लागि दिने सहुलियत दरको ऋण अनुमोदन गरेसँगै पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको निर्माण प्रक्रिया अघि बढेको हो । विमानस्थलको निर्माण कार्य २०२१ जुलाई १० मा सम्पन्न गर्ने लक्ष्य लिइएकोे छ ।

चिनियाँ निर्माण कम्पनीले पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको आठ प्रतिशत निर्माण कार्य सम्पन्न गरिसकेको विमानस्थल निर्माण आयोजना कार्यालयका प्रमुख विनेश मुनकर्मीले बताएका छन ।

कम्पनी मार्फत निर्माणको काम अघि बढिरहेको जानकारी दिँदै कम्पनीका इन्जिनियर अभिषेक उलकले निर्माण सामग्री नेपाल चीन बीचको नाका रसुवागढीबाट आउने क्रममा रहेको जानकारी दिएका हुन ।

राष्ट्रिय गौरवको आयोजनाका रुपमा सरकारको प्राथमिकतामा परेकोे विमानस्थल २०७३ वैशाख १ गते शिलान्यास गरिएको थियो । चिनियाँ कम्पनी चाइना सिएएमसी इन्जिनियरिङ र नेपाल नागरिक उड्डयन प्राधिकरण बीचको सम्झौता अनुसार इपिसी (इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्स्ट्रक्सन) मोडलमा अन्तरराष्ट्रिय नागरिक उड्डयन अर्गनाइजेसनको मापदण्ड अनुसार ‘फोरडी’ मोडलमा विमानस्थल बनाउने उल्लेख छ ।

४० बर्ष अघि पोखरा लेखनाथ महानगरपालिकाको १४, १५ र १८ वडा को ३ हजार १ सय ६ रोपनी जग्गा विमानस्थल बनाउन अधिग्रहण गरिएकामा त्यसले नपुगेपछि थप ५ सय २१ रोपनी जग्गा अधिग्रहण गरिएको थियो ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले सरकार आफैंले ऋण लिएर काम गरेको र काम अघि बढिसकेकाले निर्माण प्रभावित हुन्छ कि भनेर अलमलमा पर्न नहुने बताएका छन ।

प्रतिक्रिया दिनुहोस्