भारतमा निजी कम्पनीमा सेयर संस्कारको विकास गर्ने ‘आइकन’ मानिन्छन् धिरुभाई अम्बानी । सन् २००२ मा जब उनको मृत्यु भयो, रिलायन्सका २० लाखभन्दा बढी लगानीकर्ता थिए । जुन् भारतमा रहेका कम्पनीमध्य सबैभन्दा धेरै सेयरधनी भएको संस्था थियो । सन् १९९७ मा दर्ता भएर सञ्चालनमा आएपछि सरकारी संस्थाको दबदबा भएको भारतीय बजारमा पनि रिलायन्सले साना लगानीकर्तालाई आकर्षित गर्न सफल भयो । कम्पनीको वार्षिक साधारणसभामा अधिकांशको सहभागिता रहन्थ्यो र यस्तो सभा फुटबल रंगशालामा आयोजना हुन्थ्यो ।
त्यहिं कम्पनी रिलायन्स आज बैंकको ऋणको भारले थिचिएको छ । धिरुभाईका कान्छा छोरा अनिल अम्बानीले सञ्चालन गर्दै आएको रिलायन्स कम्युनिकेसन अथवा आरकम अहिले निकै ठूलो संकटसँग गुज्रिरहेको छ ।
अनिलले यो कम्पनी आफ्नो ठूलो दाई मुकेश अम्बानीसँग सन् २००६ मा बाँडफाँड गरेका थिए ।
टेलिकम उपकरण निर्माता इरिक्सनले आरकमसँग रहेको आफ्नो ११ करोड ५० लाख भारुको बाँकी भुक्तानीका लागि राष्ट्रिय कानुन कम्पनीमा तीन ओटा मुद्धा दर्ता गरेको छ । संकटमा परेको आरकमले टेलिकम टावर, फ्रिक्वेन्सी फाइबर लगायत उपकरण आफ्ना दाई मुकेशलाई एक खर्ब ८० अर्ब भारुमा विक्रिका लागि सम्झौता गरेका थिए । तर, मुद्धा परेपछि अनिलले यो सम्झौता अनुसार सम्पत्ति विक्रि गर्न नपाउने भएका छन् । रिलायन्स जस्तो ब्राण्ड भएको कम्पनी यसरी बैंक संकटमा पर्न सक्छ भन्ने सायदै कसैले अनुमान गरेका थिए ।
आरकम यो उधोगति रिलायन्स समुुहको खराबीको एउटा हिस्सा मात्र हो । सन् २००६ मा पारिवारीक व्यवसाय दुईभाईले बाँडफाँड गरेपछि अनिलको व्यक्तिगत समय खराब चलेको छ ।
ओरोलाको यथार्थ
फोर्ब्सका अनुसार सन् २००७ मा अनिलको कुल सम्पत्ति करिब ४५ खर्ब रुपैयाँ थियो । उनको सबैभन्दा धेरै सम्पत्ति भनेको रिलायन्स टेलिकम्युनिकेसन्समा ६६ प्रतिशत सेयर थियो । दाई मुकेश अम्बानीसँग त्यतीबेला करिब ४९ खर्ब रुपैयाँको सम्पत्ति थियो । तर फोर्ब्सको सन् २०१७ को धनीको सुचीमा अनिलको कुल सम्पत्ति जम्मा ३ खर्ब १५ अर्ब रुपियाँ रहेको छ भने मुकेशको ३८ खर्ब रुपैयाँ छ ।
ग्रुप कम्पनीको स्थितीले पनि यो प्रवृत्ति देखाउँछ । मुकेशको रिलायन्स इण्डष्ट्रिजको दश वर्षको ग्रोथ हेर्ने हो भने ९.२ प्रतिशत नाफा १७.८ प्रतिशत रिटर्न छ । तर अनिलको रिलायन्स गु्रपको भने नाफा १२.६ प्रतिशत र रिटर्न १.७ प्रतिशतले घटेको छ ।
सन् २००६ देखि नै दुवै समुहको बजार मूल्यमा ठूलो अन्तर रहँदै आएको छ । मुकेशको रिलायन्स इण्डष्ट्रिजको बजार पूँजीकरण ६ गुणाले बढेर ६० खर्ब भारु पुगेको छ । जबकी अनिलका सबै कम्पनीहरु रिलायन्स क्यापिटल, रिलायन्स इन्फ्रास्ट्रक्चर र रिलायन्स कम्युनिकेसन्सको १७ प्रतिशतले घटेर ४ खर्ब ७० करोड भारु मात्र रहेको छ ।
आरकमले गत वर्ष ऋणबाट मुक्ति पाउन जब सम्पत्ति विक्रिको योजना अघि सार्यो, आफ्नो प्रभुत्व रहेको बजारबाट यो विस्तारै बाहिरियो । सन् २०१० सम्म भारतको कुल दुरसञ्चार बजारको १७ प्रतिशत हिस्सा आरकमको थियो । त्यतिबेला यो बजारको दोस्रो ठूलो कम्पनी थियो । सन् २०१६ मा यस्तो हिस्सा १० प्रतिशतले घट्यो र यसको स्थान प्रमुख कम्पनीहरुमा रहन सकेन । बजार गुमाउँदै गएसँगै यसको बैंक ऋण पनि बढ्दै गयो । सन् २०१० तिर २ खर्ब ५० खर्ब भारु रहेको त्यस्तो ऋण अहिले करिब दोब्बरले बढेर ४ खर्ब ५० अर्ब भारु पुगेको छ ।
बढ्दो ऋणको चाप र सेवा प्रवाहमा समस्या बढ्दै गएपछि रिलायन्स गु्रपका प्रायः संस्थामा समस्या देखिन थालेको हो ।
आरकम जब वायरलेस व्यवसायबाट बाहिरियो, रिलायन्स ग्रुप विस्तारै यस्तै किसिमका अन्य व्यवसायबाट बाहिरिदैं आएको छ । केहि वर्ष अघि मात्र यो गु्रप मिडिया, मनोरञ्जन, सिमेण्ट र सडक निर्माणको व्यवसायबाट बाहिरिएको छ । यस पछाडी धेरै कारण भएपनि मुख्य कारण बैंक ऋण नै हो ।
हालैमात्र रिलायन्स इन्फ्रास्ट्रक्चरले आफ्नो मुम्बई पावर व्यवसाय अदानी ट्रान्समिसनलाई विक्रि गर्ने निर्णय गरेको छ ।