काठमाडौं । पूँजीगत खर्च परिचालनमा सधै पछाडि पर्दै आएको सरकारलाई यस पटक पनि लक्ष्य भेटाउन ठूलो चुनौती खडा भएको छ । पूँजीगत खर्च परिचालनलाई प्रधानमन्त्री तथा अर्थमन्त्रीले आफु मातहतका निकायलाई पटक पटक निर्देशन दिएपनि बजेट परिचालन भने एकदमै न्यून रहेको छ ।
सरकारले चालू आर्थिक बर्षमा उच्च रुपमा पूँजीगत खर्च परिचालन गरी पुर्ननिर्माणलाई द्वूत गतिमा अघि बढाउने लक्ष्य अनुरुप बजेट निर्माण गरे पनि खर्च भने हुन सकेको छैन । चालू आबको अन्त्य सम्म आईपुग्दा सरकारले पूँजीगत खर्च जम्मा ३९ प्रतिशत मात्र गर्न सफल भएको छ । जुन पूँजीगत बजेट परिचालन एकदमै न्युन हो ।
महालेखा नियन्त्रकको कार्यालयले उपलब्ध गराएको तथ्याङक अनुसार हिजो अर्थात बुधबारसम्ममा १ खर्ब ३१ अर्ब २५ करोड रुपैयाँ पूँजीगत खर्च गरेको छ । सरकारले बजेटमार्फत ३६५ दिनमा कुल ३ खर्ब ३५ अर्ब १७ करोड रुपैयाँ पूँजीगत खर्च गर्ने लक्ष्य लिएपनि २९८ दिनमा त्यसको ३९ प्रतिशतमात्र खर्च भएको छ ।
सरकारले पूँजीगत खर्चको लक्ष्य भेटाउन अबका दिनमा दैनिक ३ अर्ब ४ करोड रुपैयाँ पूँजीगत खर्च गर्नुपर्ने दबाब छ । जबकि अहिले सरकारको दैनिक पूँजीगत खर्च गर्ने क्षमता ४३ करोड ७२ लाख रुपैयाँ मात्र रहेको छ । केही समय अघिसम्म अर्थ मन्त्रालयले चालू आर्थिक बर्षको अन्त्य अर्थात असार सम्ममा पूँजीगत खर्च ८० प्रतिशतको हाराहारीमा हुने प्रक्षेपण गरेपनि नयाँ सरकार गठनसँगै फागुन मसान्तसम्म ठेक्कामा नलागेका आयोजनाहरुलाई रोक्ने बताएसँगै पूँजीगत खर्च परिचालनमा अझै संकुचन आउने सम्बद्ध सरोकारवालाहरु बताउँछन् ।