Logo

आन्दोलनकारीलाई पेल्दै तामाकोशीको सेयर जेठ पहिलो साता आउने, डिम्याट खाता नचाहिने

आन्दोलनकारीलाई पेल्दै तामाकोशीको सेयर जेठ पहिलो साता आउने, डिम्याट खाता नचाहिने



काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले पुरानै मोडलमा सेयर ल्याउने भएको छ । कम्पनीले यही जेठ पहिलो साताबाट सेयर बिक्री गर्न लागेको हो ।

आयोजनाले स्थानीयको लागि चैतको पहिलो हप्तामै सेयर निस्काशन गर्ने तयारी गरेपनि स्थानीयको आन्दोलनका कारण रोकिएको थियो । तर, अबका दिनमा आन्दोलनलाई पेलेरै भए पनि जेठ पहिलो साता सेयर निश्कासनको तयारी गरेको प्रमुख कार्यकारी बिज्ञान श्रेष्ठले जानकारी दिए ।

केही समय देखि विबादित बनेको माथिल्लो तामाकोशीको सेयर आन्दोलनकारीको माग बमोजिम वितरण नगरिने आयोजनाले जानकारी दिएको छ । ‘जिल्ला समन्वय समितिले पुरानै मोडलबाट जान हामीलाई ग्रिन सिग्नल दिईसकेको छ,’ उनले भने, ‘त्यसैले हामी पुरानै मोडलबाट जाने तयारीमा छौं ।’ हाल सेयर वितरण सम्बन्धमा दोलखामा भएको आन्दोलन ‘जुँगाको लडाईँ’ मात्र भएको उनको तर्क छ ।

नयाँ व्यवस्था (डिम्याड खाता) अनुसार सेयर वितरण गर्ने हो भने दोलखाको ५ प्रतिशत जनताले मात्र सेयर भर्ने पाउने छन । तसर्थ परिचय खुल्ने सरकारी कागजात भएका सबैले सेयर भर्न मिल्ने व्यवस्था गरिएको उनले जानकारी दिए । ‘आन्दोलनरत साथीहरुले भने बमोजिम ३० कित्ता सेयरको लागि ग बर्गका समुहले पनि ३० हजार रुपैयाँ नै जम्मा गर्नु पर्ने आवश्यक छैन,’ उनले भने, ‘तर क वर्गमा पर्नेले ३० हजार रुपैंया जम्मा गर्नु कुनै ठूलो कुरा भएन ।’ तामाकोशीको सेयरका लागि दोलखालीले सेयर आवेदन दिँदा बर्गीकरण अनुसार पुरानै मोडल अनुरुप १०, २० र ३० हजार रुपैंया जम्मा गर्नु पर्नेछ ।

उनका अनुसार घरको एक जनाको अनिवार्य बैंक खाता हुनुपर्ने छ । अहिले टाउको गनेर सेयर वितरण गर्न लागेकाले भरखर जन्मेको बच्चाले पनि सेयर भर्न पाउनेछन । साथै विदेशमा हुनेले पनि सेयर भर्न पाउने छ । विदेशमा रहेकालाई सेयर भर्नको लागि ३० दिनको समय दिने र सोही समय भित्र विदेशमा हुनेहरुले हाम्रो ढाँचा अनुसार फारम भरी पठाएको खण्डमा सेयर भर्न पाउने आयोजनाले जानकारी दिएको छ ।

तर दोलखामा संघर्षरत आन्दोलनकारीले भने तामाकोशीले स्थानीयलाई दिने १० प्रतिशत सेयरमा सवैलाई समान नभएको भन्दै चरणबद्ध आन्दोलन गर्दै आएको छ । माथील्लो तामाकोशीले स्थानीयलाई दिने भनिएको १० प्रतिशत सेयर दामासाहीले वितरण गर्ने कि प्रभाबका आधारमा वितरण गर्ने भन्ने विषयमा विबाद देखिएको थियो ।

विबादलाई आयोजनाले पेलेर जाने भए पछि न्याय नपाउन्जेल आफुहरु विरोधमा उत्रिने उक्त आन्दोलनका संयोजक बर्मा लामाले बताए । ‘आयोजनाले आन्दोलनलाई वेवास्त गर्दै जाने हो भने सबै खालको विरोध गर्ने र काममा अवरोध गर्ने देखी भौतिक अवरोध गर्ने छौं,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्