काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुवीर महासेठले अबको ६ महिनाभित्र नेपालले आफ्नै रेल संचालनमा ल्याउने बताइरहँदा रेल्वे विभागले भने उक्त समयावधि भित्र कुनै पनि हालतमा संचालनमा नआउने स्ष्ट पारेको छ ।
नेपालमा रेल्वे संचालनका लागि रेलको सम्भाब्यता अध्ययन भईरहकोे बेला मन्त्री महासेठले भने अबको ६ महिना भित्र नेपालले आफ्नै रेल चलाउने दावी गरेका छन ।
बुधबार एक कार्यक्रममा मन्त्री महासेठले ६ महिना भित्र आफ्नै रेल चालउने बताए पछि रेल विभागले भने मन्त्रीले भनेको समयभित्र कुनै हालतमा रेल कुदाउन नसकिने स्पष्ट पारेको हो ।
विभागले अहिले रेल चलाउन सम्भाव्यता अध्ययन मात्र गरेको र तत्कालै कुदाउन नसकिने बताएका छन । मन्त्री महासेठले भने बढीमा ६ महिनाभित्रै जयनगर–जनकपुर–बर्दिबास–सिमरासम्म रेल कुद्ने दावी गरेका थिए । तर, जनकपूर जयनगर ३५ किलोमिटर रेल २०१८ को डिसेम्बर तिर मात्र सञ्चालनमा ल्याउन सकिने विभाग स्रोतले जानकारी दिएको छ ।
विभागका अनुसार मन्त्रीहरुले आफूखुसी बोलेको भरमा ६ महिना भित्र कुनै हालतमा रेल नगुडने बताए । ‘बजारबाट १ केजी प्याज ल्याउन त समय लाग्छ भने रेल चलाउने कुरा हो समय लाग्छ नै,’ उक्त स्रोतले भन्यो, ‘विना अडर ६ महिना भित्र रेल कुदाउँछु भनेर जनतालाई भ्रम फिजाउनु गलत कुरा हो ।’ कुनै पनि देशले अडर गरेको १ वर्ष अगाडीनै रेल ल्याउन नसकेको तितो यथार्थ सुनाउँदै ती कर्मचारीले मन्त्रीले भनेको जस्तो ६ महिना भित्र रेल कुदाउन नसकिने जानकारी दिए ।
कसरी गुड्ला ६ महिना भित्र रेल
नेपालमा आफ्नै रेल गुडने सम्भावना नभएको भने पक्कै होईन । तर त्यसको लागि आर्थिक भौतिक रुपमा सक्षम हुन जरुरी छ । नेपाल यस्तो देश हो जहाँ रेल कुदाउनको लागि आवश्यक दक्ष जनशक्ति त छैन नै रेल लाई चाहिने इन्धन समेत छैन । नेपालले आफ्नै रेल कुदाउनु भनेको खुसीको कुरा हो तर नेपालमा रेल को लागि चाहिने दक्ष जनशक्ति, ढुवानी गर्ने डिब्बा, मान्छे बस्ने डिब्बा, रेलको ईन्जिन स्टेशन म्यानेजर, काउन्टर, मर्मत गर्न सक्ने दक्ष जनशक्ति चाहियो यो अहिले नेपालमा सम्भव नभएको विभागले जानकारी दिएको छ ।