काठमाडौं । आन्तरिक राजस्व विभागले आगामी ३ महिना भित्र करदाताहरुलाई केन्द्रीय बिजक अनुगमक प्रणालीमा ल्याउने भएको छ । विभागले हालसम्म कम्प्युटर विलिङका लागि स्वीकृति लिएका सबै करदातालाई केन्द्रीय बिजक अनुगमन प्रणालीमा ल्याउन लागिएको विभागका डेपुटी महानिर्देशक तथा सुचना अधिकारी यज्ञप्रसाद ढुङ्गानाले जानकारी दिए । ‘विभागले केही दिनभित्रै बिलिङ सम्बन्धी कार्यविधी परिमार्जन गर्न लागेको छ,’ उनले भने, ‘त्यस लगत्तै कम्प्युटर बिलिङ्का लागि स्वीकृति लिएका सबै करदातालाई केन्द्रीय बिजक अनुगमन प्रणालीमा जोडिन सुचना जारी गर्ने छौं । ’
विभागले कर दिवशको अवसरमा केन्द्रीय बिजक अनुगमन प्रणाली कार्यान्वयमा ल्याएको थियो । सो अवधिमा विभागले सिप्रदी ट्रेडिङलाई केन्द्रीय बिजक अनुगमन प्रणालीमा जोडेर औपचारिक रुपमा शुरुवात गरेको थियो । अबका दिनमा कम्प्युटर बिलिङका अनुमति लिएका सबै करदातालाई सो प्रणालीमा ल्याउने गरी काम अघि बढाइएको ढुङ्गानाले जानकारी दिए ।
विभागले कम्प्युटर विलिङका लागि हालसम्म १ सय ४० वटा सफ्टवेयरलाई स्वीकृति प्रदान गरिसकेको छ । जसमध्ये ६ सयभन्दा बढी करदाताले कम्प्युटर बिजक जारी गर्न अनुमति लिएका छन् । ती सबै सफ्टवेयर तथा करदातालाई तीन महिना भित्रै केन्द्रीय बिजक अनुगम प्रणालीमा जोडिने समेत उनले जानकारी दिए । ‘यस अघि हामीले केन्द्रीय बिजक अनुगमन प्रणालीमा नजोडि सफ्टवेयर दिएका थियौं,’ उनले भने, ‘अबका दिनमा केन्द्रीय बिजक अनुमगन प्रणालीमा जोडेर मात्र सफ्टवेयर दिने छौं ।’
सबै करदातामा सो प्रणाली कार्यान्वयनमा आएसँगै रियलटाईम विलिङको बारेमा विभागलाई जानकारी हुने छ । ‘यस प्रणालीसँगै जति करदाता जोडिन्छन् ती सबैको बिल काट्ने वित्तिकै विभागका जानकारी आईपुग्छ,’ उनले भने, ‘जसले गर्दा कति रकमको विल काटियो कति कर उठ्यो भन्ने कुरा तुरुन्तै जानकारीमा आउनेछ ।’ सो प्रणाली कार्यान्वयनमा आएसँगै कर सम्बन्धी सम्पूर्ण विषयको केन्द्रस्तरबाटै अनुगमन हुने विभागले जानकारी दिएको छ ।
केन्द्रीय बिजक अनुगमन प्रणालीको सफ्टवेयर नै करदाताको बिल काट्ने कम्प्युटर वा उसको सिस्टममा जडान गरिने हुँदा कुनै पनि करदाताले कर छली गर्न नसक्ने विभागको दाबी छ ।