काठमाडौ. । आर्थिक बर्ष २०७३/०७४ को १० महिनामा नेपालबाट ६१ अर्ब ६ करोड रुपैयाँ बराबरको निर्यात भएको छ । जुन गत आवको सो अबधिको तुलनामा ७ प्रतिशतले बढी हो । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांक अनुसार गत आवको १० महिनामा ५६ अर्ब ७० करोड रुपैयाँ बराबरको बस्तु निर्यात भएको थियो ।
समग्रमा नेपालको निर्यात बढे पनि सरकारले नेपाल एकिकृत व्यापार रणनीतिमा राखेका केही बस्तुहरुको निर्यात भने घटेको छ । १० महिनामा जुत्ता, अलैची, तयारी पोसाकलगायतको निर्यातमा ह्रास आएको छ ।
त्यसो त नेपालबाट २७ ओटा उत्पादन निकासी भएकोमा गत आवको तुलनामा १० ओटा मात्र बृद्धि भएको देखिन्छ । बाँकी १७ ओटाको बस्तुको निर्यातमा ह्रास आएको छ ।
सो अबधिमा छाला, चिया, चाउचाउ, तेल,जुस, एसिड,धागो,फेल्ट, चाँदीका गहना, फलामजस्त वस्तुको निर्यात बढेको छ । जसमध्ये जुसको निर्यात सबैभन्दा बढी १ सय ५ प्रतिशतले बढेको हो ।
त्यस्तै हस्तकला,अदुवा, जडीबुटी, पश्मिना सललगायतको निर्यातमा ह्रास आएको छ । सो अबधिमा सबैभन्दा बढी निर्यात हुने वस्तुमा भने उनीको कार्पेट रहेको छ । १० महिनामा नेपालबाट ६ अर्ब १६ करोड रुपैयाँ बराबरको उनीको कार्पेट निर्यात भएको छ । त्यस्तै ५ अर्ब ४५ करोड रुपैयाँको धागो निर्यात भएको छ ।