Logo

उदयपुर सिमेन्टको ‘एक गाउँपालिका, एक डिलर ’ अभियान, २५ बर्ष पछि २५ करोड नाफा

उदयपुर सिमेन्टको ‘एक गाउँपालिका, एक डिलर ’ अभियान, २५ बर्ष पछि २५ करोड नाफा


रक्षा रेग्मी
0
Shares

उदयपुर । उदयपुर सिमेन्टले एक गाउँपालिका एक डिलर स्थापना गर्ने भएको छ । कम्पनीले सिमेन्टलाई देशभर पुर्याउने लक्ष्यसहित सो अवधारणा अघि बढाउन लागेको कम्पनीको सञ्चालक समितिका अध्यक्ष अक्रुर खड्काले बताए । ‘प्रत्येक गाउँपालिकामा पुग्ने लक्ष्यसहित रोडम्याप  तयार गरेर अघि बढ्ने छौ,’ उनले भने ।

कम्पनी २५ बर्षपछि चालु आर्थिक बर्षमा नाफामा गएको छ । चालु आबको १० महिनामा १७ करोड रुपैयाँ मुनाफा आर्जन गरेको र बर्षभरिमा २५ करोड रुपैयाँ नाफा आर्जन गर्ने लक्ष्य रहेको उद्योगका महाप्रबन्धक सुरेन्द्र पौडेलले जानकारी दिए । विगतमा ३० करोड रुपैयाँ घाटा वेहोरेको कम्पनीले चालू आवमा नाफामा गएको हो ।

उद्योगले सो अबधिमा ८५ हजार मेट्रिक टन क्लिंकर तथा सिमेन्ट उत्पादन गरेको हो । त्यस्तै आगामी आवमा १ लाख ५० हजार मेट्रिक टन क्लिंकर उत्पादनको लक्ष्य उद्योगको छ । मन्त्रालयको नीतिगत सहयोग र उद्योगका कर्मचारीको कार्यदक्षताका कारण पछिल्लो समय सिमेन्ट उत्पादन बढेको उद्योगका महाप्रवन्धक सुरेन्द्र पौडेल बताउँछन् ।

रोप वेबाट चुनढुंगा

उद्योगले सिमेन्ट उत्पादनका लागि अत्यावश्यक चुनढुंगा रोपवे बाट ढुवानी गर्दै आएको छ । सिमेन्टको कच्चा पदार्थ चुनढुंगा उद्योगबाट करिव १८ किलोमिटरको दुरीमा रहेको सुकौरा चुनढुंगा खानीबाट रोपवेमार्फत ल्याइने गरिन्छ । रोपवे पुरानो र महंगो प्रविधि हो ।

त्यस्तै एउटा गन्डोला विग्रिएमा मर्मत गर्ने प्राविधिक नहुँदा ढुवानी बन्द गर्नुपर्ने अवस्था भएको उनले बताए । उद्योगको खानीमा मात्र २ सय जना कर्मचारी छन् । खानीबाट उद्योगसम्म आउन दैनिक १ सय ८५ ओटा पकेट प्रयोग हुन्छ ।

उद्योग २०४९ मा दर्ता भएको हो । ६ अर्ब ३० करोड लागतमा बनेको उद्योमा जापानको प्राविधिक तथा आर्थिक सहायता थियो । शुरुका दिनमा प्रतिदिन ८ सय टन क्लिंकर उत्पादन गर्दै आएको थियो । उद्योगले सिमेन्ट उत्पादनका लागि भुटान र भारतबाट कोइला आयात गर्दै क्लिंकर उत्पादन प्रमुख सञ्जयकुमार लालले जानकारी दिए । उनका अनुसार सिमेन्टका लागि आवश्यक ९८ प्रतिशत कच्चा पदार्थ यहीँ उत्पादन हुन्छ । ८५ प्रतिशत चुनढुङगा, १४ प्रतिशत रातोमाटो र एक प्रतिशत फलाम मिलाएर क्लिंकर उत्पादन हुन्छ ।

विजुली नियमित नहुँदा दैनिक लाखौ घाटा

उद्योगमा बारम्बार विजुली गइरहने समस्याले गर्दा दैनिक लाखौको घाटा हुने गरेको छ । १ मिनेटको लागि बत्ती जाँदा पनि उद्योग सञ्चालन गर्न करिव ३० मिनेट जति लाग्ने भएकोले लाखौको घाटा हुने लालले जानकारी दिए । ‘बत्ती गएपछि सवै मेसिन ठप्प हुन्छ उनले भने फेरी सूचारु गर्दा प्रत्येक मेसिन क्रमैसँग गर्नुपर्ने भएकोले समय लाग्छ ।’

उनका अनुसार १ पटक बत्ती जाँदा ८ लाख बराबरको घाटा हुन्छ । बैशाख महिनामा मात्र ९० पटक विजुली गएको उनको भनाई छ । जसबाट २ करोड ९७ लाख बराबरको घाटा उद्योगले बेहोरेको छ । उद्योगमा हाल ४ सय २५ जना कर्मचारी छन् । विद्युतभारका कारण उद्योगले लक्ष्यअनुसार उत्पादन गर्न सकेको छैन ।

ढुवानीलगायत समस्याले अरु सिमेन्टको तुलनामा उदयपुर सिमेन्ट केही महँगो परेको पौडेल बताउँछन् । उद्योग क्षेत्रमा काम गर्ने श्रमिकलाई औषधि उपचार, उपदान, पदोन्नतिलगायतका समस्या भएको  अखिल नेपाल औद्योगिक मजदुर संघका अध्यक्ष चक्रबहादुर कार्कीले बताए ।

१६ हजार टन उत्पादन क्षमता रहेको उद्योगले अहिले  १२ हजारदेखि १४ हजार बोरासम्म सिमेन्ट उत्पादन गर्दै आइरहेको छ ।

त्यस्तै उद्योगले जापान सरकारले वनाएको मेसिन मर्मतका लागि १५ करोडको बोलपत्र आह्वान गरेर उद्योगले काम अगाडि बढाइसकेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL