काठमाडौ । प्रधानमन्त्रीका आर्थिक एवं विकास सल्लाहकार डा. युवराज खतिवडाले हाल देखिएका उद्योगी व्यवसायीका समस्या आगामी बजेटले सम्बोधन गर्ने बताए । नेपाल उद्योग तथा व्यवसायी महासंघको केन्द्रिय कमिटिको बैठकलाई सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन्। ‘अहिले यो महासंघले समग्र उद्योगी व्यवसायीको हित हुनेगरी होलेस्टिक एप्रोचमा समस्याहरु उजागर गरेको बुझेको छु’ उनले भने, ‘देशको अर्थतन्त्रको मेरुदण्ड भनेको साना तथा मझौला उद्योगहरु हुन् तसर्थ त्यस्ता उद्योगी व्यवसायीहरुको माग समाधान गर्न लाग्नुस ।’
आफुले महासंघले उठाएको एजेण्डाहरु सरकारसमक्ष राखेर सम्बोधन गर्न प्रयास गर्नेसमेत प्रतिवद्धता उनले व्यक्त गरे । साथै महासंघले उद्योग व्यवसायको करका दरहरु हेर फेर मात्र नभई राष्ट्र र राष्ट्रिय अर्थतन्त्र चलायमान हुनेगरी कसरी सम्बोधन गर्ने भन्ने बिषयमा पनि ध्यान दिनुपर्ने उनले बताए ।
चालू आर्थिक बर्षमा आर्थिक वृद्धिदर ४.५ देखि ५ प्रतिशतको हाराहारीमा हुने बताउँदै उनले उत्पादनमुलक उद्योगको वृद्धिदर गत बर्ष नकारात्मक भएपनि यो बर्ष सकारात्मक रहेको र निर्माण र सेवा उद्योगका सूचकहरु पनि सकारात्मक रहेको बताए ।
‘नेपाल सरकारले आफ्नो प्राथमिकता अनुसार आयोजना अघि बढाएको छ विदेशी दातृ निकायले सदासयता देखाएर सहयोग गरेपनि उनीहरुले रोक्दैमा एमसीसी लगायतका आयोजनाहरु राेकिदैनन्,’ उनले भने, ‘बैंकहरुले तत्काल ब्याजदर नबढाउने हुनाले उद्याेगी व्यवसायीले ढुक्क भएर प्लान अनुसार काम गरे हुन्छ ।
अहिले उत्पादित तयारी बस्तु भन्दा कच्चा पदार्थको भन्सार मूल्य बढी भएकोले त्यसमा सम्बोधन गर्नुपर्ने र औद्योगिक कच्चा पदार्थ आयातलाई सहजिकरण गर्ने गृहकार्य भईरहेको समेत उनले जानकारी दिए ।
कार्यक्रममा नेकपा एमाले स्थायी कमिटि सदस्य एवं जनसंगठन इन्चार्ज भानुभक्त ढकालले महासंघले समग्र उद्योगी व्यवसायीको माग सम्वोधन हुनेगरी काम गर्नुपर्ने बताए । ‘पार्टी सरकारमा रहेको बेला उद्योगी व्यवसायीका समस्या समाधान गर्न महासंघको ठूलो भुमिका छ,’ उनले भने, ‘सरकारले आगामी आवको बजेट बनाउँदै छ त्यसमार्फत समग्र उद्योगी व्यवसायीको समस्या समाधान गराउन लाग्नु पर्नेछ यस विषयमा मेरो पनि सहयोग रहनेछ ।’
कार्यक्रममा महासंघका अध्यक्ष भागिरथ सापकोटाले अहिले उद्योगी व्यवसायी समस्यामा रहेको र त्यस विषयमा सरकारले आफ्ना मागहरु सम्वोधन गर्दै गएको बताए । ‘हामीले समग्र उद्योगी व्यवसायीहरुसंग सुझाव लिएर त्यसको किताव तयार पारेर सरकारलाई बुझाएका छौं,’ उनले भने, ‘सरकारले गठन गरेको खनाल आयोगले हाम्रा अघिकांश माग सम्वोधन गर्नेगरी प्रतिवेदनमा समावेश गरेको छ यो एकदमै सह्रानीय छ ।’
कार्यक्रममा महासंघका उपमहासचिव डिमप्रसाद पौडेलले इ–कमर्श परियोजना सार्वजनिक गर्दै आगामी दिनमा देशभरीका उद्योगी व्यवसायीलाई एउटै प्लेटफर्ममा जोड्ने बताए । यसैगरी कार्यक्रममा महासंघका अर्थसचिव गोपाल खनालले संस्थाको आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गरेका थिए ।
कार्यक्रममा महासंघ इन्चार्ज रचना खड्काले महासंघले सम्पूर्ण उद्योगी व्यवसायीलाई गोलबन्द गरी अघि बढ्नुपर्ने बताइन् । साथै उनले संस्थामा निर्वाचित भएर आएका अध्यक्षलगायत सिंगो कमिटीले व्यवसायीक हकहितमा काम गर्नुपर्ने जानकारी दिइन् ।

