Logo

ट्रम्प ट्यारिफ प्रभाव : कोक, किटक्याटदेखि डाइपरसम्मको मूल्य अत्याधिक बढ्दै

ट्रम्प ट्यारिफ प्रभाव : कोक, किटक्याटदेखि डाइपरसम्मको मूल्य अत्याधिक बढ्दै



काठमाडौं । विश्वभरका ठूला कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूले किटक्याट, डायपरदेखि लिएर सवारीसाधनसम्मका दैनिक उपभोग्य वस्तुहरूको मूल्य बढ्ने संकेत दिएका छन् । उनीहरूले अमेरिकी महसुल तथा कच्चा पदार्थको बढ्दो लागत उपभोक्तामाथि सार्न सुरु गरिसकेको जनाएका छन् ।

यसले विश्वव्यापी रूपमा उपभोक्ता मागमा गिरावट ल्याउने मात्र होइन, मुद्रास्फीति थप बढ्ने खतरा पनि देखिएको छ । यस्तो अवस्था अमेरिका लगायतका देशका नेताहरूका लागि राजनीतिक चुनौती बन्ने आँकलन गरिएको छ ।

अहिलेका लागि अधिकांश ठूला कम्पनीहरू आफ्नो नाफाबाट केही समय दबाव सहने मनस्थितिमा छन् । तर प्रोक्टर एण्ड ग्याम्बल जस्ता उपभोक्ता सामान उत्पादक कम्पनीहरूले महसुलका कारण वार्षिक लागत एक अर्बदेखि डेढ अर्ब डलरसम्म बढ्न सक्ने र त्यसको केही भाग मूल्यवृद्धिबाट नै व्यवस्थापन गर्ने बताएका छन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत जोन मोएलरले महसुललाई स्वभाविक रूपमा मुद्रास्फीतिजन्य बताएका छन् ।

नेस्ले, युनिलिभर लगायतका बहुराष्ट्रिय कम्पनीहरूले मूल्य बढाइसकेका छन् र लागत अझै बढे मूल्य फेरि बढाउने चेतावनी दिएका छन् । नेस्ले प्रमुख कार्यकारी अधिकृत लोरेन्ट फ्रेइक्सले प्रतिस्पर्धात्मक बजारमा उपभोक्ताको प्रतिक्रिया पनि विचार गर्दै मूल्य समायोजन भइरहेको बताएका छन् ।

पेप्सिकोले केही लोकप्रिय उत्पादनहरूको सस्तो संस्करण बजारमा ल्याएर उपभोक्ताको खर्च गर्ने मनोवृत्तिमा परिवर्तन ल्याउने प्रयास गरिरहेको छ । तर उत्पादनको आकार घटाएर गरिएको रणनीति अन्ततः मूल्य वृद्धिको रूपमा उपभोक्ताले महसुस गर्ने देखिएको छ ।

सवारीसाधन उत्पादक फोर्ड मोटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महसुल छुट नदिए कारको मूल्य आगामी महिना बढाउने चेतावनी दिएको छ । अर्कोतर्फ हुन्डाई मोटरका प्रमुख कार्यकारी जोसे मुन्होजले आफूहरू छोटो अवधिका लागि महसुलको केही बोझ सहने तयारीमा रहेको जनाएका छन् । कम्पनीहरू मध्ये केहीले अझै मूल्य नबढाउने नीति अख्तियार गरेका छन् । ट्रयाक्टर सप्लाई कम्पनीका प्रमुख कार्यकारी हल लटोनले बजारमा अहिले पनि धेरै अनिश्चितता रहेको र त्यसैले तत्काल मूल्य नबढाउने निर्णय गरिएको बताएका छन् ।

पी एण्ड जीमा महसुलका कारण औसत एकदेखि दुई प्रतिशत मूल्य वृद्धिको आवश्यकता पर्ने उल्लेख गरिएको छ । तर यसले कुन देशमा, कुन ब्रान्ड र कस्ता कच्चा पदार्थ प्रयोग गरिन्छ भन्ने आधारमा फरक असर गर्नेछ ।

अर्थशास्त्रीहरूका अनुसार ट्रम्पको महसुल नीतिले मुद्रास्फीति फेरि बढाउनेछ भन्ने अपेक्षा गरिएको छ । अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले पनि मूल्य वृद्धिको स्थायीत्वबारे नजिकबाट अनुगमन गरिरहेको जनाएको छ ।

उपभोक्ताको मुद्रास्फीति प्रतिको आशंका पनि बढ्दो छ । युनिभर्सिटी अफ मिशिगनको अध्ययन अनुसार छोटो तथा दीर्घकालीन मुद्रास्फीति अपेक्षा हालका दशकको उच्चतम स्तरमा पुगेको छ । न्युयोर्क फेडको अर्को अध्ययनमा पनि आगामी वर्षका लागि मूल्य वृद्धि अपेक्षा बढेको देखिएको छ ।

अहिलेसम्मको तथ्यांक अनुसार उपभोक्ता खर्च स्थिर देखिए पनि भविष्यको अवस्था चुनौतीपूर्ण देखिएको छ । मार्च महिनामा खुद्रा बिक्रीमा वृद्धि भए पनि त्यो महसुल लागु हुनुअघि उपभोक्ताहरूले सामाग्री जोहो गर्न खोजेकाले भएको अनुमान गरिएको छ। मूल्य अझै बढ्दै गए र रोजगारी बजार कमजोर हुँदै गयो भने अमेरिकी उपभोक्ताहरूको खर्चमा गिरावट आउने र यसले आर्थिक मन्दीको जोखिम बढाउने अर्थशास्त्रीहरूको विश्लेषण छ ।

यता, राष्ट्रपति ट्रम्पले भने आफ्नो व्यापार युद्धको असर सामान्य रहेको संकेत गरेका छन्। ट्रुथ सोसियलमा गरिएको पोस्टमार्फत उनले ग्याँस र किराना सामानको मूल्य तल झरेको दाबी गरेका छन् । नेपालमा पनि युनिलिभर, नेस्लेलगायतका वहुराष्ट्रिय कम्पनीहरुले उत्पादन गरेका चिसोदेखि डाईपरसम्मका वस्तुहरुको उपभोग उच्च छ । चकलेट आइटम, कफी, चिया, विद्युतीय सवारीसाधनलगायतका वस्तुहरुको मूल्य विश्वबजारमै बढेपछि त्यसको प्रत्यक्ष असर नेपालमा पनि पर्छ नै । तसर्थ अमेरिकी राष्ट्रपति ट्रम्को ट्यारिफको प्रभाव नेपालको भान्छासम्मै देखिने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस्