काठमाडौं । चालु आर्थिक बर्षको पछिल्लो ८ महिनामा नेपालमा साढे १० खर्ब बढी रेमिट्यान्स भित्रिएको छ । गत आर्थिक बर्षको यहि अवधिको तुलनामा यस्तो रेमिट्यान्स आप्रवाह ९.४ प्रतिशतले बढ्दै १० खर्ब ५१ अर्ब ७७ करोड रुपैयाँ पुगेको हो । गत आवको सोही अवधिमा विप्रेषण आप्रवाह १८.३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.९ प्रतिशतले वृद्धि भई ७ अर्ब ७४ करोड पुगेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।
चालु आवको पछिल्लो ८ महिनाको तथ्यांक सार्वजनिक गर्दै केन्द्रिय बैंकले अघिल्लो वर्ष यस्तो आप्रवाह १६.१ प्रतिशतले बढेको बताएको छ । यसरी चालु आवको ८ महिनामा अर्थात २ सय ४० दिनमा प्रत्येक दिन ४ अर्ब ३८ करोड रुपैयाँ बढी रेमिट्यान्स भित्रिएको देखिन्छ ।
चालु आवमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३ लाख १७ हजार ६८ जना र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख १७ हजार ४ सय ३ रहेको छ । गत बर्ष सोही अवधिमा यस्तो संख्या क्रमशः २ लाख ८५ हजार ३ सय ५२ र १ लाख ८२ हजार ७ सय ८३ रहेको थियो ।