काठमाडौं । भारतको अग्रणी र प्रसिद्ध मिठाई र नमकिन ब्रान्ड, बिकानेरवाला अब बेलायतमा पनि आफ्नो उपस्थिति विस्तार गर्न गइरहेको छ । कम्पनीले शुक्रबार खुद्रा तथा आतिथ्य क्षेत्रको अग्रणी कम्पनी द मोन्टाना ग्रुपसँगको साझेदारीमा बेलायतमा विस्तार गर्ने तयारी गरिरहेको बताएको छ । कम्पनीले हालै श्रीगंगानगरमा आफ्नो नयाँ आउटलेट सुरु गरेको छ र कम्पनीले २०२५ देखि २०२६ सम्ममा थप २५ वटा आउटलेट खोल्ने तयारी गरिरहेको छ ।
सानो पसलबाट सुरु भएको यो कम्पनी १०० वर्षभन्दा पुरानो भइसकेको छ यस अवधिमा कम्पनीले धेरै कोसेढुङ्गाहरू हासिल गरेको छ । हाल यस कम्पनीको कारोबार लगभग ३,००० करोड भारतीय रुपैयाँ बढी (करीब ५० अर्ब नेपाली रुपैयाँ) छ । कम्पनीले सन् २०३० सम्ममा १०,००० करोड भारतीय रुपैयाँको कारोबार पुर्याउने लक्ष्य राखेको छ । यद्यपि, मिठाई र खाजा बनाउने पसलबाट ब्रान्डमा रूपान्तरण हुनुको पछाडि एउटा रोचक कथा छ ।
१२० वर्ष पहिले १९०५ मा, श्री लाल चन्द अग्रवालले बीकानेरमा एउटा सानो पसल खोलेका थिए, जहाँ उनी मिठाई र नमकीन बेच्थे । त्यतिबेला कसैले सोचेका थिएनन् कि यो पसलले एकदिन विश्वभर आफ्नो छाप छोड्नेछ । पछि, उनका छोराहरू केदारनाथ र सत्यनारायण अग्रवाल यो व्यवसाय विस्तार गर्ने उद्देश्यले १९५५ मा कोलकाता र मुम्बई हुँदै दिल्ली पुगे । उनीहरुको यहाँ बस्ने कुनै ठाउँ थिएन, तर केही परिचितहरूको सहयोगमा उनले पुरानो दिल्लीको धर्मशालामा आश्रय पाए ।
सुरुवाती दिनहरूमा, दुवै दाजुभाइले रसवरी र नमकीनलाई कागजको प्याकेटमा बेरेर बेच्थे । यसबाट दुवै दाजुभाइले दैनिक ५ रुपैयाँ कमाउन सक्थे । तर, चाडपर्वहरूले कम्पनीको भाग्य नै परिवर्तन गरिदिए । चाडको समयमा उीहरुले बनाएका रसवरीहरू यति प्रसिद्ध भए कि मानिसहरू ती किन्न लाइनमा उभिन थाले । परिस्थिति यस्तो बन्यो कि उनीहरुले एक ग्राहकलाई केवल १० वटा रसगुल्ला दिने निर्णय गरे
सन् १९५६ मा, दुवै दाजुभाइले मिलेर पुरानो दिल्लीको नई सडकमा एउटा सानो पसल किने । यहीँबाट उनीहरुको व्यवसाय बढ्न थाल्यो । यसपछि, कम्पनीले १९६२ मा मोती बजारमा आफ्नो पहिलो स्टोर खोल्यो । यो स्टोर मुग दाल हलवा, बिकानेरी भुजिया र काजु कटलीको लागि प्रसिद्ध भयो । बिस्तारै उनीहरुको पसलको नाम बिकानेरवाला भयो ।
कम्पनीले १९८८ मा ‘बिकानो’ ब्रान्ड अन्तर्गत हावा नछिर्ने प्याकेजिङमा खाजा र मिठाईहरू बेच्न थाल्यो । सन १९९५ मा, कम्पनीले हरियाणाको फरीदाबादमा प्लान्ट स्थापना ग¥यो र पेप्सीकोको ‘लहर’ ब्रान्डको लागि स्न्याक्स उत्पादन गर्न सम्झौता गर्यो । यसपछि, २००३ मा, बीकानेरवालाले ‘बिकानो चाट क्याफे’ सुरु गरे, जुन अझै पनि एक लोकप्रिय खाद्य श्रृंखला हो । आज बीकानेरवालाका भारत, संयुक्त राज्य अमेरिका, क्यानडा, युएई, कतार, न्यूजील्याण्ड, सिंगापुर र नेपालमा २२५ भन्दा बढी आउटलेटहरू छन् । सन् २०२३ मा कम्पनीको कारोबार रु. ३,००० करोड बढी भारतीय रुपैयाँ थियो ।