काठमाडौं । विभिन्न माध्यमबाट हुने कालोधन (स्रोत नखुलेको रकम)शुद्धिकरणका कारण नेपाल ग्रे लिष्टमा परेको सरोकारवालाहरुले बताएका छन् । विशेषगरी क्यासिनो, बहुमूल्य धातुको कारोबार, वास्तविक बेनिफिसरी नराखी विभिन्न व्यवसायीक फर्म खोल्ने तथा घरजग्गा कारोबारबाट हुने अबैध रकम शुद्धिकरणका कारण नेपाल फाइनान्सियल एक्सन टाक्स फोर्स (एफएटीएफ)को ग्रे लिस्टमा परेको प्रधानमन्त्री कार्यालयका कानून तथा मानवअधिर क्षेत्र हेर्ने सचिव फणिन्द्र गौतमले बताए । ‘एफएटीएफले नेपाल ग्रे लिस्टमा पर्नुको मुख्य ४ कारण औल्याएका छन्,’ गभर्नेन्स एण्ड इन्नोभेसनले आयोजना गरेको एएमएल कन्फ्रेन्समा बोल्दै उनले भने, ‘यसलाई तत्काल सुधार नगर्ने हो भने यसले थप समस्या निम्त्याउने छ ।’
एफएटीएफले दिएको जानकारी अनुसार नेपाल ग्रे लिस्टमा पर्नुमा कपोरेट क्षेत्रबाट बढी समस्या देखिएको समेत उनले जानकारी दिए । ‘अहिले कतिपय उद्योगहरुको वास्तविक लाभग्राही को हो भन्ने नै थाहा छैन,’ उनले भने, ‘त्यसरी खोलिएका उद्योगबाट अहिले कालोधन शुद्धिकरण भईरहेको छ जुन नेपालका लागि धेरै नै हानीकारक छ ।’ पछिल्लो समय वास्तविक लाभग्रही नराखी उद्योग व्यवसाय खोल्दा त्यसले बढी गैरकानूनी काम गरेको तर छानविनको दायरामा त्यस्ता नियत राख्ने व्यक्ति उम्किने गरेका छन् । साथै अबका दिनमा नेपाललाई ग्रे लिस्टबाट निकाल्नका लागि बैंक खाता तथा उद्योग व्यवसाय संचालनमा लागि राष्ट्रिय परिचयपत्र विना काम नहुने वातावरण निर्माण गरिएको समेत उनले जानकारी दिए ।
अहिले जसले सम्पति शुद्धिकरण निवारण सम्बन्धी ऐनका कारण उद्योग व्यवसाय संचालन गर्न पाईएन भनिरहेका छन् उनीहरुले आफुसँग भएको कालोधनलाई शुद्धिकरण गर्न पाईएन भनेर अनावश्यक रुपमा हल्ला फैलाइरहेको समेत सचिव गौतमले जानकारी दिए । ‘अहिले जुन गुनासो आईरहेको छ उनीहरुले म अपराध गर्दैछु र मैले त्यसरी आर्जन गरेको पैसा व्यवसायमा लगाउन पाइन भन्ने गुनासो मात्रै हो,’ उनले भने, ‘यदि कसैले शुद्ध पैसा व्यवसायमा लगाउम्छ भने त्यसमा सम्पत्ती शुद्धिकरण निवारण ऐन नै लाग्दैन यस विषयमा क्लियर भए हुन्छ ।’ साथै अबका दिनमा नेपालमा क्यासिनोमा हुने कारोबारका सम्बन्धमा धेरै नै अनुगमन र नियमन गर्नुपर्ने जरुरी देखिएको समेत उनले जानकारी दिए । पछिल्लो समय क्यासिनोमा हुने अबैध कारोबारलाई नियन्त्रण गरेकै कारण फिलिपिन्स ग्रे लिस्टबाट बाहिर निश्किएको भन्दै नेपालले पनि त्यस विषयमा उच्च सर्तकताका साथ चासो दिएको समेत उनको भनाई थियो ।
यसैगरी नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालले अब गैर कानूनी रुपमा पैसा भित्रनमा रोक लगाउँदै यसअघि भित्रिएको रकमलाई सरकारले आफ्नो नियन्त्रणमा लिनुपर्ने बताए । ‘हामीकहाँ कुन तहको भ्रष्टाचार हुन्छ त्यो हामीलाई जति थाहा छ त्यो भन्दा बढी हाम्रा मूल्यांकनकर्ता सरोकारवाला निकायलाई थाहा छ,’ उनले भने, ‘तसर्थ यस विषयमा हामी सुध्रिनु जरुरी छ ।’ साथै नेपालले सम्पत्ती शुद्धिकरण निवारण सम्बन्धी प्रक्रियागत कुरालाई चाँडै सम्पन्न गरेमा ग्रेलिष्टबाट निस्कन धेरै समय नलाग्ने बताए । तर अहिले नेपाल भित्रको आर्थिक गतिविधि तथा भ्रस्टाचार जसरी चलिरहेको छ त्यसलाई यहि अवस्थामा छाड्ने हो भने त्यसले राम्रो नतिजा नदिने उनको भनाई थियो । ग्रे लिस्टमा पर्नु नेपालका लागि सुध्रिने अवसर रहेको भन्दै यसलाई सबै सरोकारवालाले सदुपयोग गर्नुपर्ने उनले जानकारी दिए ।
सम्पती शुद्धिकरण हुने मुख्य माध्यम बैंकिङ क्षेत्र रहेको भन्दै सो विषयमा बैंक तथा वित्तीय क्षेत्र बढी सचेत हुनुपर्ने उनको भनाई थियो । ‘बैंकिङ क्षेत्र एकदमै सेन्सेटिभ छ यही माध्यमलाई प्रयोग गरेर सम्पत्ती शुद्धिकरण भईरहेको छ’ उनले भने, ‘यस विषयमा बैंकरहरु बढी चनाखो हुनुपर्ने देखिन्छ ।’ अहिलेकै अवस्थामा नेपालले सुधार गर्न नसक्ने भएकै कारण एफएटीएफले ग्रे लिस्टबाट निष्कनका लागि २ वर्षको समय दिएको समेत उनले जानकारी दिए ।