काठमाडौं । प्रतिनिधिसभाले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश स्वीकृत गरेको छ। बुधबार बसेको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव राखेका थिए, जसलाई बहुमतले पारित गरिएको हो ।
यसअघि, सांसद स्वर्णिम वाग्लेले उक्त अध्यादेश अस्वीकृत गर्नुपर्ने भन्दै राखेको सूचना बहुमतले अस्वीकार गरेको थियो। अध्यादेशबारे उठेका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री पौडेलले प्रक्रियागत रूपमा नै अध्यादेश ल्याइएको स्पष्ट पारे। उनले सरकारको कदम संसदप्रति अपमानजनक नभएको बताउँदै, संसदलाई कुण्ठा व्यक्त गर्ने होइन, विचार राख्ने थलो बनाउनुपर्ने धारणा राखे।
मन्त्री पौडेलले सदन नचलेका बेला अध्यादेश ल्याउन सरकार स्वतन्त्र रहेको उल्लेख गर्दै, ‘अध्यादेश प्रस्तुत गर्दा अपमान हुन्छ भने लोकतन्त्र खोज्न जंगल जानुपर्ने’, भन्दै प्रश्नसमेत गरे। साथै, सरकारले ल्याएको अध्यादेश पारित गराउने क्षमता सरकारसँग रहेको दाबी गरे।
विपक्षी दलका सांसदहरूले भने अर्थ समितिमा विधेयक छलफलमै रहेको बेला अध्यादेश ल्याउनु गलत भएको जिकिर गर्दै, अर्थमन्त्रीलाई नैतिकताका आधारमा राजीनामा दिन सुझाव दिए। त्यस्तै, अर्थमन्त्री पौडेलले नेपाललाई समयमै ग्रे लिस्टबाट हटाउने प्रतिबद्धता व्यक्त गरे।