काठमाडौं । भारतले आर्थिक वर्ष २०२३/२४ मा ३८६ करोड भारतीय रुपैयाँ (६ अर्ब १७ करोड नेपाली रुपैयाँ) को गाईको गोबर अन्य देशमा निर्यात गरेको छ । यो तथ्यांक धेरैलाई अचम्मको भएपनि कृषि तथा अर्गानिक उत्पादनको बढ्दो मागका कारण अन्तर्राष्ट्रिय बजारमा भारतीय मलको ठूलो माग रहेको छ ।
गोबर किन्ने शीर्ष ५ देशमा माल्दिभ्स, अमेरिका, सिंगापुर, चीन र नेपाल रहेका छन् । यी देशहरूमा भारतीय गाईको गोबर जैविक खेती, खाद्य उत्पादन, कागज उत्पादन र ऊर्जा स्रोतहरूमा प्रयोग गरिन्छ।
गाईको गोबर अर्गानिक खेतीका लागि उत्तम खाद्य मानिन्छ । साथै, यसबाट बायोग्यास उत्पादन गरिन्छ, जसले हरित ऊर्जा उत्पादनमा मद्दत गर्दछ। धेरै देशहरूमा गाईको गोबरबाट बनेको कागज, मैनबत्ती र सजावटका वस्तुहरू पनि लोकप्रिय छन्।
यो निर्यातले भारतलाई आर्थिक रूपमा मात्र फाइदा पुर्याएको छैन, पशुमा आधारित अर्थतन्त्रलाई पनि बलियो बनाएको छ । गोबर किसानको आम्दानीको नयाँ स्रोत पनि बनेको छ । आगामी वर्षहरूमा गोबर निर्यात अझ बढ्ने भारतीय सरकारी अधिकारीले बताएका छन् ।
नेपालमा पनि मुख्य आयातकर्ता
भारतबाट गाईको गोबर किन्ने शीर्ष ५ देशमा रहेको नेपालले चालु आर्थिक बर्षको ७ महिनामा ३ लाख ६७ हजार ४ सय ६१ केजी गोबर आयात गरेको छ । यो परिमाण रकममा भने ७ करोड ८ लाख ४३ हजार बराबरको हो ।
भन्सार विभागका अनुसार नेपालमा ‘एनिमल अर भेजिटेबल फर्टिलाइजर’ शीर्षकमा गाइवस्तुको मलमुत्रबाट बनेको मल आयात हुने गरेको छ । कृषिप्रधान देशको रुपमा रहेको नेपालमा पशुपालन पनि मुख्य पेशाका रुपमा रहँदै आएको छ । तर, नेपालमा तथ्यांकले नै मासिक करोडौं रुपैयाँको गाइवस्तुको मल आयात भएको देखाउँछ ।
