Logo

भन्सार राजस्व असुलीमा चुक्यो सरकार, ७ महिनामा ३ खर्ब २६ अर्ब उठाउने लक्ष्य तर २ खर्ब ६२ अर्ब मात्रै संकलन

भन्सार राजस्व असुलीमा चुक्यो सरकार, ७ महिनामा ३ खर्ब २६ अर्ब उठाउने लक्ष्य तर २ खर्ब ६२ अर्ब मात्रै संकलन



काठमाडौं । भन्सार राजस्व असुलीमा सरकार चुकेको छ । चालु आर्थिक बर्ष सरकारले ५ खर्ब ६० अर्ब रुपैयाँ बराबरको भन्सार राजस्व उठाउने लक्ष्य लिएको छ । त्यसअनुसार ७ महिनामा भन्सार कार्यालयहरुले ३ खर्ब २६ अर्ब राजस्व संकलन गरिसक्नुपर्ने थियो । तर, ७ महिना वितिसक्दासम्म सबै भन्सार कार्यालयहरुले जम्मा २ खर्ब ६२ अर्ब ९५ करोड रुपैयाँ मात्रै भन्सार राजस्व उठाउन सफल भएका हुन् । यो लक्ष्यको करिव ४५ प्रतिशत मात्रै हो ।

विभागको तथ्यांकलाई आधार मान्दा चालु आवमा राजस्वमा योगदान दिने प्रमुख वस्तुहरुको आयातमा देखिएको सुस्तताले यसमा प्रभाव पारेको देखिन्छ । अर्थात नेपालको भन्सार राजस्वमा योगदान दिने प्रमुख वस्तुहरुको सूचीको माथिल्लो स्थानमा रहने इन्धनबाट चल्ने सवारीसाधन, पेट्रोलियम पदार्थ, अन्य रेडिमेड वस्तुलगायतको आयातमा उल्लेख्य प्रगति भएको देखिँदैछ । विभागको तथ्यांक अनुसार चालु आवको पछिल्लो ७ महिनामा राजस्वमा सबैभन्दा बढी योगदान दिने सवारीसाधन भने पाँचौ स्थानमा सीमित भएको छ ।

यस अवधिमा सबैभन्दा बढी भन्सार राजस्व डिजेलबाट २९ अर्ब ४५ करोड, पेट्रोलबाट २४ अर्ब ५८ करोड, एलपीजीबाट ६ अर्ब ६१ करोड र विद्युतीय सवारीसाधनबाट ५ अर्ब ५० करोड रुपैयाँ बराबरको राजस्व संकलन भएको छ । यस्तै इन्धनयुक्त सवारीसाधनबाट भने यस अवधिमा जम्मा ५ अर्ब ४३ करोड रुपैयाँ बराबरको मात्रै राजस्व संकलन भएको छ ।

खासगरी नेपालमा विदुतीय सवारीसाधनको प्रवद्र्धनपूर्व भन्सार राजस्वमा सबैभन्दा बढी योगदान नै सवारीसाधन र यसका पार्टपुर्जामार्फत हुने गरेको थियो । तर, विद्युतीय सवारीसाधनको आयातमा प्रोत्साहन गरेसँगै यसको आयातसँगै राजस्व संकलन पनि प्रभावित हुँदै आएको देखिन्छ । अझ यसैका कारण उच्च आयात भई राजस्वमा योगदान दिने डिजेल, पेट्रोल, ग्याँसलगायतमार्फत उठ्ने राजस्वमा पनि संकुचन देखिन थालेको छ ।

वैदेशिक व्यापारका हिसावले नेपालको सबैभन्दा बढी वस्तु आयात निर्यात हुने प्रमुख भन्सार विन्दु विरगंज भन्सार कार्यालय हो । यहि कार्यालयले गरेको राजस्व संकलनले सबै भन्सार राजस्वलाई प्रभावित पार्ने गरेको छ । चालु आवको ७ महिनामा यो कार्यालयले ९४ अर्ब ५२ करोड रुपैयाँ मात्रै राजस्व संकलन गरेको छ । यो उक्त कार्यालयलाई दिएको लक्ष्यको जम्मा ७७ प्रतिशत मात्रै हो । अर्थात उक्त कार्यालयले चालु आवको माघसम्मका लागि १ खर्ब २१ अर्ब रुपैयाँ बराबरको राजस्व संकलन गर्ने लक्ष्य पाएको छ ।

यद्यपी यो बर्षभरीका लागि कार्यालयले २ खर्ब १८ अर्ब ९५ करोड रुपैयाँ बराबरको राजस्व संकलन गर्ने लक्ष्य पाएको छ । तर, हालसम्म त्यसको जम्मा ४३.१६ प्रतिशत मात्रै राजस्व संकलन भएको छ । बाँकी रहेको ४ महिनामा विभागले थप ५६ प्रतिशत राजस्व संकलन गर्न असम्भवप्राय छ । कार्यालयले हरेक महिना आफुले पाएको लक्ष्यको ८८ प्रतिशतमाथि प्रगति हाँसिल गर्न नसकेको विभागको तथ्यांकमा देखिन्छ । यद्यपी पछिल्लो ७ महिनामा कार्तिकमा सबैभन्दा कम अर्थात लक्ष्यको जम्मा ६३ प्रतिशत राजस्व संकलन भएको देखिन्छ ।

यो कार्यालयबाट उच्च आयात भएका वस्तुहरुध्ये चालु आवको ७ महिनामा मेसिनरी पार्टपुर्जा र विद्युतीय मेसिनरी तथा पार्टपुर्जाहरुको आयातमा उल्लेख्य गिरावट आउँदा भन्सार राजस्व प्रभावित भएको कार्यालयले जानकारी दिएको छ । कार्यालयका अनुसार यातायातका साधन र तिनका पार्टपुर्जाको आयातमार्फत हुने राजस्व आम्दानी यो बर्ष ३.४७ प्रतिशतले घट्दा मेसिनरी पार्टपुर्जाको आयातमार्फत हुने राजस्व संकलन २१ प्रतिशतले घटेको छ । यस्तै यसै अवधिमा गत आवको सोही अवधिको तुलनामा श्रृंगारका सामग्रीहरुको आयातमार्फत हुने राजस्व पनि १० प्रतिशतले घटेको विरगंज भन्सार कार्यालयले जानकारी दिएको छ ।

चालु आर्थिक वर्ष २०८१/८२ को प्रारम्भमा नेपाल सरकारले कुल १४ खर्ब १९ अर्ब राजस्व सङ्कलन गर्ने महत्वाकांक्षी लक्ष्य राखेको थियो । तर, पछिल्लो समय आर्थिक मन्दी, निजी क्षेत्रको न्यून लगानी, आयातमा कमी, र कर सङ्कलन कमजोर हुँदा सरकार आफ्नो लक्ष्य हासिल गर्न असमर्थ देखियो ।

अर्धवार्षिक बजेट समीक्षापछि सरकारले राजस्व लक्ष्य घटाउँदै अब १२ खर्ब ५० अर्बमा सीमित गर्ने निर्णय गरिसकेको छ । विशेष गरी भन्सार राजस्वमा ठूलो गिरावट देखिएको छ । चालु आवको सुरुवातमा ५ खर्ब ८३ अर्ब लक्ष्य राखिएकोमा अब सो परिमार्जन गर्दै करिब १५–२०% ले कटौती गरिने अनुमान गरिएको छ । हालसम्म भन्सार राजस्व २ खर्ब ६२ अर्ब मात्रै संकलन भएको छ । लक्ष्य अनुसार अबको ४ महिनामा थप ३ खर्ब २१ अर्ब उठाउनु पर्नेछ । त्यसका लागि प्रत्येक महिना करिब ४५.८५ अर्ब संकलन गर्नुपर्ने हुन्छ । हालसम्म कुल लक्ष्यको मात्र ४४.९४% राजस्व संकलन भएको छ ।

प्रतिक्रिया दिनुहोस्