काठमाडौं । नेपाल सम्पति शुद्धीकरणको ‘ग्रे’ लिस्टमा परेको छ । फ्रान्समा जारी फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को दोश्रो प्लेनरी बैठकले नेपाललाई आगामी दुई वर्षका लागि ‘ग्रे’ लिष्टमा राखेको हो ।
एफएटीएफको दोश्रो प्लेनरीमा भाग लिन नेपालका तर्फबाट प्रधानमन्त्री कार्यालयका सचिव फणिन्द्र गौतम र नेपाल राष्ट्र बैंकका निर्देशक तथा फाइनान्सियल इन्टेलिजेन्स युनिट(एफआईयु)का हरि नेपाल फ्रान्स पुगेका थिए । कालोधन (स्रोत नखुलेको रकम) लाई खुलेआम बैंक तथा वित्तीय संस्थाबाटै वैध बनाएको पाएपछि एफएटीएफले नेपाललाई ग्रे लिष्टमा राखेको दाबी गरेको छ । यसैगरी ग्रे लिस्टमा नेपालसँगै लाओस पनि परेको छ । तर, यसअघि ग्रे लिष्टमा रहेको फिलिपिन्स भने उक्त लिष्टबाट बाहिर निष्कन सफल भएको छ ।
एफएटीएफको ‘ग्रे’ लिष्टमा परेपछि नेपालले कालो सूचीमा पर्नबाट बच्नका लागि २ वर्षको समयावधि प्राप्त गर्नेछ । सो अवधिमा एफएटीएफले दिएको टार्गेट अनुसार काम गर्न नसकेमा कालो सूचीमा पर्नेछ । जसअनुसार अब अवैध ठहरिएका सम्पतिहरु सरकारले जफत गर्नुपर्ने हुन्छ भने अबका दिनका अवैध सम्पतिहरुको छानविन गरी त्यस्ता कार्य गर्नेलाई कानूनी दायरामा ल्याउनु पर्ने हुन्छ ।