काठमाडौं । चालु आर्थिक बर्षको पहिलो ७ महिनामा नेपालको निर्यात व्यापार ४६ प्रतिशतले बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको साउनदेखि माघ मसान्तसम्म गत आवको सोही अवधिको तुलनामा यस्तो निर्यात ४६.५० प्रतिशतले बढेको हो । गत आर्थिक बर्षको पहिलो ७ महिनामा ८६ अर्ब ८३ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेको नेपालले चालु आवको सोही अवधिमा यस्तो निर्यात बढाएर १ खर्ब २७ अर्ब २० करोड पुर्याएको हो ।
यस अवधिमा समग्र निर्यात व्यापारमा खानेतेल निर्यातको हिस्सा अत्याधिक छ । अर्थात पछिल्लो ७ महिनामा मात्रै नेपालले ४० अर्ब ५३ करोड रुपैयाँ बराबरको खानेतेल निर्यात गरेको छ । यो कुल निर्यात व्यापारको करिव ३५ प्रतिशत हो ।
यस्तै यस अवधिमा नेपालको आयात व्यापार भने १० प्रतिशतले बढेर ९ खर्ब ८८ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक बर्षको यहि अवधिमा नेपालको कुल आयात ८ खर्ब ९७ अर्ब ९४ करोड रुपैयाँ बढीको थियो । निर्यात व्यापारमा उछाल आएपनि उच्च आयातका कारण नेपालले चालु आवको पछिल्लो ७ महिनामै ८ खर्ब ६१ अर्ब ३८ करोड रुपैयाँ व्यापारघाटा व्यहोरेको छ ।
यो गत आवको तुलनामा ६.२० प्रतिशतले बढी हो । यस अवधिमा नेपालको निर्यात आयात अनुपात २४ प्रतिशतले घटेको छ भने कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा २९ प्रतिशतले बढेको देखिन्छ । यद्यपी यहि अवधिमा कुल वैदेशिक व्यापारमा आयातको हिस्सा भने २ प्रतिशतले घटेको भन्सार विभागले जानकारी दिएको छ ।