काठमाडौं । नेपालको सार्वजनिक ऋण २६ खर्ब नाघेको छ । चालु आर्थिक बर्षको माघ मसान्तसम्म सरकारले बाह्य र आन्तरिक स्रोतबाट २६ खर्ब ११ अर्ब ६ करोड रपैयाँ सार्वजनिक ऋण उठाएको हो । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक बर्षको सुरुवातमा २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ रहेको यस्तो ऋण माघ मसान्तसम्म १ खर्ब ७६ अर्ब ९६ करोड रुपैयाँले बढेर २६ खर्ब माथि पुगेको हो ।
यसले नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपीमा) ४५.७७ प्रतिशत हिस्सा ओगटेको देखिन्छ । माघ मसान्तसम्म सरकारले तिर्न बाँकी रहेको सार्वजनिक ऋणलाई नेपालको जनसँख्यासँग भाग गर्दा प्रत्येक नेपालीको थाप्लोमा करिव ९० हजार रुपैयाँ दायित्व हुन आउने देखिन्छ ।
यसरी उठाईएको ऋणमा आन्तरिक स्रोतबाट कुल ११ खर्ब ८० अर्ब ९० करोड र बाह्य स्रोतबाट १२ खर्ब ५३ अर्ब १९ करोड रुपैयाँ ऋण उठाईएको देखिन्छ । यो तिर्न बाँकी ऋण हो । यद्यपी हालसम्म नेपालले ऋण दायित्वको सावाँ र ब्याज दुबै गरी चालु आवको ७ महिनामा १ खर्ब ५० अर्ब २० करोड रुपैयाँ भुक्तानी गरिसकेको छ । जसमध्ये १ खर्ब २७ अर्ब आन्तरिक ऋण दायित्व र २२ अर्ब ९६ करोड रुपैयाँ बाह्य ऋण दायित्व भुक्तानी गरिएको हो ।
चालु आर्थिक बर्ष सरकारले जम्मा ५ खर्ब ४७ अर्ब रुपैयाँ बराबरको सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य लिएको छ । जसमा माघ मसान्तसम्म २ खर्ब ९० अर्ब ५७ करोड रुपैयाँ प्राप्ति भएको देखिन्छ । बार्षिक लक्ष्यको तुलनामा सार्वजनिक ऋण प्राप्ति ५३.१२ प्रतिशत पुगेको छ । जसमध्ये आन्तरिक र बाह्य ऋण प्राप्तिको हिस्साव क्रमशः ६९.४४ र २८.३१ प्रतिशत छ ।