Logo

मुद्दती निक्षेपमा रमाउँदै निर्जीवन बीमा कम्पनी : ६८ प्रतिशत रकम बैंकमा, प्राथमिकताप्राप्त क्षेत्रमा न्यून लगानी

मुद्दती निक्षेपमा रमाउँदै निर्जीवन बीमा कम्पनी : ६८ प्रतिशत रकम बैंकमा, प्राथमिकताप्राप्त क्षेत्रमा न्यून लगानी



काठमाडौं । नेपालमा सञ्चालित निर्जीवन बीमा कम्पनीहरु मुद्दती निक्षेपमा मस्त देखिएका छन् । ती कम्पनीहरुले हालसम्म गरेको कुल लगानीको ६८ प्रतिशतमाथि बैंकहरुको मुद्दती निक्षेपमा लगानी गरेको पाइएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको पुष मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरुले ६८ अर्ब ७४ करोड रुपैयाँ बराबरको लगानी गरेका छन् । त्यसमध्ये झण्डै ६७.८३ प्रतिशत अर्थात ४६ अर्ब ६३ करोड रुपैयाँ मुद्दती निक्षेपमा राखेका हुन् ।

प्राधिकरणले उपलब्ध गराएको विवरणलाई आधार मान्दा बीमा कम्पनीहरुले बैंकको मुद्दती निक्षेपमा लगानी गर्न निश्चित सीमा तोकिएको हुँदैन । सोहीअनुसार कम्पनीहरुले सकेको जति पैसा मुद्दती निक्षेपमा राख्ने गरेका छन् । यसरी मुद्दती निक्षेपमा राख्ने निर्जीवन बीमा कम्पनीहरुमा राष्ट्रिय बीमा कम्पनी अग्रस्थानमा छ । कम्पनीले चालु आवको पुष मसान्तसम्म ‘क’ वर्गका बैंकको मुद्दती निक्षेपमा ६ अर्ब ६२ करोड रुपैयाँ लगानी गरेको छ । यस्तै मुद्दती निक्षेपमा धेरै लगानी गर्नेमा दोस्रो स्थानमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको देखिन्छ । यो कम्पनीले हालसम्म मुद्दती निक्षेपमा ६ अर्ब १२ करोड रुपैयाँ लगानी गरेको छ ।

यस्तै यसै अवधिमा प्रभु इन्स्योरेन्सले ६ अर्ब ५ करोड, नेको इन्स्योरेन्सले ४ अर्ब ६६ करोड, सगरमाथि लुम्बिनी इन्स्योरेन्सले ४ अर्ब ८ करोड, आइजीआई प्रुडेन्सीयलले ३ अर्ब ४३ करोड, दि ओरियन्टल इन्स्योरेन्सले ३ अर्ब १७ करोड र नेपाल इन्स्योरेन्सले ३ अर्ब १२ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गरेको देखिन्छ ।

यस्तै युनाइटेज अजोड इन्स्योरेन्सले २ अर्ब ८२ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्दा सानिमा जिआइसीले २ अर्ब ६९ करोड, शिखर इन्स्योरेन्सले २ अर्ब ४० करोड, नेशनल इन्स्योरेन्सले २ अर्ब र एनएलजी इन्स्योरेन्सले १ अर्ब ८१ करोड रुपैयाँ मुद्दती निक्षेपमा राखेको देखिन्छ ।

यसबाहेक निर्जीवन बीमा कम्पनीहरुले ख र ग बर्गका बैंक तथा वित्तीय संस्थाहरुमा पनि मुद्दती निक्षेपको रुपमा पैसा राख्ने गरेको देखिन्छ । यस अवधिसम्म बीमा कम्पनीहरुले केन्द्रिय बैंकबाट इजाजतपत्र प्राप्त ‘ख’ वर्गका बैंकहरुमा ५ अर्ब ६५ करोड र ग बर्गका बैंक वित्तीय संस्थामा १ अर्ब १६ करोड रुपैयाँ मुद्दती निक्षेपमा राखेका छन् । यस्तै बीमा कम्पनीहरुले ४ अर्ब ३९ करोड रुपैयाँ साधारण सेयरमा, ३ अर्ब ५ करोड रुपैयाँ बैंक वित्तीय संस्थाको अग्राधिकार सेयर र बण्डमा, २ अर्ब २९ करोड रुपैयाँ अन्य क्षेत्रमा लगानी गरेको पाईएको छ । यता राष्ट्र बैंक र सरकारले तोकेका प्राथमिकताप्राप्त क्षेत्रमा भने बीमा कम्पनीहरुको लगानी न्यून रहेको तथ्यांकले देखाउँछ ।

तथ्यांकअनुसार चालु आवको पुष मसान्तसम्म प्राथमिकताप्राप्त क्षेत्र मानिएका कृषि उत्पादन तथा वितरण, शीत भण्डार गृह, पर्यटन, जलविद्युत, सौर्य उर्जा, केबलकार, सडक, विद्युत प्रसारण लाइन, शिक्षा र स्वास्थ्यलगायत क्षेत्रमा लगानी न्यून देखिन्छ । यी क्षेत्रमा हालसम्म निर्जीवन बीमा कमपनीहरुले जम्मा १ अर्ब १५ करोड ४१ लाख रुपैयाँ मात्रै लगानी गरेका छन् । यो कुल लगानीको जम्मा १।६६ प्रतिशत मात्रै हुन आउँछ । बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरुलाई यस्ता क्षेत्रमा अधिकतम १० प्रतिशतसम्म लगानी गर्न सक्ने उल्लेख गरेको छ ।

यस्तै बीमा कम्पनीहरुले सरकारी बचतपत्र र ऋणपत्रमा पनि त्यति लगानी गरेको देखिँदैन । यस्तो क्षेत्रमा निर्जीवन बीमा कम्पनीहरुलाई न्यूनतम २० प्रतिशत लगानी गर्नुपर्ने अनिवार्य शर्त लागू गरिएपनि त्यहीअनुसार लगानी नभएको देखिन्छ । तथ्यांकलाई आधार मान्दा यस्तो क्षेत्रमा पुष मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरुले जम्मा ५२ करोड २१ लाख रुपैयाँ मात्रै लगानी गरेका छन् । तर, अब भने बीमा कम्पनीहरुले विस्तारै यसमा लगानी बढाईरहेको नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्री बताउँछन । ‘प्राथमिकता प्राप्त क्षेत्रमा लगानी गर्नका लागि सरकारले सीमा तोकिदिएको छ,’ उनले भने, ‘अब यी क्षेत्रहरुमा पनि कम्पनीहरुले विस्तारै लगानी बढाउँदै गएका छौं, एकै क्षेत्रमा मात्रै लगानी गरेर भएन लगानी विविधिकरण गर्नुपर्ने हुनाले परियोजनाअनुसार लगानी गरिँदै आएको छ ।’

उनले सरकारी बण्डहरुमा भने लगानी गर्ने मौका नपाएर गर्न नसकिएको बताए । खासगरी यसअघि बीमा कम्पनीहरु मुृद्धति निक्षेपमै रमाईरहेका थिए । बीमा प्राधिकरणले बीमा कम्पनीहरु बैंकको मुद्धति निक्षेपमा मात्रै केन्द्रित भएको भन्दै नयाँ लगानी निर्देशिका ०७९ मार्फत जीवन, निर्जीवन तथा पुनर्बिमा कम्पनीहरूका लागि विभिन्न ११ र लघुबिमा कम्पनीका लागि ८ क्षेत्रमा लगानी गर्न पाउने व्यवस्था गरेको थियो । त्यस्ता प्राथमिकताप्राप्त क्षेत्रहरु भर्खरै मात्रै तोकिएको भएकाले पनि यसमा न्युन लगानीजस्तो देखिएको क्षेत्री बताउँछन् ।

प्राधिकरणले जारी गरेको निर्देशिकामा ११ क्षेत्रलाई एकै शिर्षकमा राखिएपनि ११ मध्ये पर्यटन क्षेत्रको होटल उद्योग र जलविद्युत आयोजनामा सबैभन्दा बढी लगानी रहेको एक बीमा कम्पनीका अधिकारीले बताए । उनका अनुसार केहि बीमा कम्पनीहरुले होटल र जलविद्युतमा मनग्य लगानी गरेका छन् । तर, कृषि, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा भने अझै बीमा कम्पनीहरुले लगानी भरपुर विस्तार गर्न नसकेको उनको भनाई छ ।

बीमा कम्पनीहरूलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्ने उद्देश्यले लगानी निर्देशिका परिमार्जन गर्दै बीमा प्राधिकरणले यस्तो व्यवस्था गरिदिएको थियो ।

प्रतिक्रिया दिनुहोस्