काठमाडौं । विश्वका धेरै देशमा करदाताहरूले आयकरको बोझबारे विभिन्न गुनासो गरिरहेका हुन्छन् । तर, विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रका रुपमा रहेको अमेरिकामा करदाताहरूले आयकरबाट अब मुक्ति पाउन सक्ने बताइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा आयकर हटाउने वकालत गरेका छन् । आफ्नै जनतालाई कर लगाएर विदेशी मुलुकलाई धनी बनाउनुको सट्टा विदेशी वस्तुमा भन्सार बढाएर अमेरिकी नागरिकलाई धनी बनाउने बेला आएको उनको भनाइ छ । उनले भने, ‘सन् १९१३ अघि यो व्यवस्था मुलुकमा थियो र अब फेरि त्यही प्रणाली अपनाउनुपर्ने बेला आएको छ ।
ट्रम्पले देशमा आयकर प्रणाली खारेज गर्ने प्रस्ताव गरेका छन ्। यसो भयो भने देशका जनताको डिस्पोजेबल आम्दानी बढ्ने छ । अमेरिकी राष्ट्रपतिले यसबाट अमेरिकालाई धनी बनाउने व्यवस्था देशमा फिर्ता ल्याउने बताएका छन् । उनले भने, ‘अमेरिकाले हामीलाई धनी र शक्तिशाली बनाउने प्रणालीमा फर्कने बेला आएको छ । आफ्नै जनतालाई कर लगाएर अरु देशलाई धनी बनाउनुको सट्टा विदेशी वस्तुमा कर लगाएर आफ्नै जनतालाई धनी बनाउनुपर्छ ।’
अमेरिकी राष्ट्रपतिले भने, ‘अमेरिका धनी बन्न गइरहेको छ र यो काम छिट्टै हुनेछ । १८७०–१९१३ को बीचमा, अमेरिकाले ट्यारिफमार्फत सबैभन्दा ठूलो समृद्धि हासिल गर्यो । हामीसँग यति धेरै पैसा थियो कि १८८७ मा सरकारले ठूलो ट्यारिफ आयोग गठन गर्नुपर्यो । त्यतिबेला देशमा आयकर प्रणाली थिएन । आयकर १९१३ मा शुरू भएको थियो । अमेरिकामा धेरै आयकर स्ल्याबहरू छन् । देशमा जनतालाई आफ्नो आयको आधारमा १०%, १२%, २२%, २४%, ३२%, ३५% र ३७% कर लगाइन्छ ।
ट्रम्पले क्यानडा र मेक्सिकोबाट आउने सामानमा २५ प्रतिशत कर लगाउने घोषणा गरेका छन् । त्यस्तै फेब्रुअरी १ गतेदेखि चिनियाँ सामानमा १० प्रतिशतले भन्सार बढाउने योजना छ । भारत र ब्राजिलमा पनि ट्यारिफको बादल मडारिरहेको छ । ट्याक्स फाउण्डेशनका अनुसार अमेरिका आउने सामानमा २० प्रतिशत कर लगाएर सरकारले वार्षिक ३ सय अर्ब डलर आम्दानी गर्न सक्छ । आफ्नो पहिलो कार्यकालमा ट्रम्पले केही उत्पादनहरूमा कर लगाएका थिए र जो बाइडेनले पनि यसलाई धेरै हदसम्म कायम राखेका थिए । अर्थात् अब विद्यमान महशुलभन्दा माथि महशुल लगाइनेछ । प्रतिशतका हिसाबले हेर्दा यो अमेरिकाको जीडीपीको १.८ प्रतिशत हुनेछ । हाल अमेरिकाको जीडीपी २७.६ ट्रिलियन डलर छ ।