Logo

अमेरिकामा प्रत्येक घण्टा सवा अर्ब बढीको सामान निर्यात गर्दै भारत, ट्रम्पले ट्यारिफ बढाए के होला ?

अमेरिकामा प्रत्येक घण्टा सवा अर्ब बढीको सामान निर्यात गर्दै भारत, ट्रम्पले ट्यारिफ बढाए के होला ?



काठमाडौं । डोनाल्ड ट्रम्पले सत्तामा आएपछि भारतलगायत धेरै देशलाई शतप्रतिशत करवृद्धि गर्ने धम्की दिएपनि अमेरिका–भारतको व्यापारले भने ट्रम्पलाई समस्यामा पार्न सक्ने देखिन्छ । भारत र अमेरिकाबीचको व्यापार लगातार बढिरहेको छ । अमेरिकामा भारतीय सामानको वर्चस्व बढ्दै गएको छ । पछिल्लो ९ महिनामा भारतले प्रत्येक घण्टा करिब ८० करोड भारतीय रुपैयाँ (१ अर्ब २८ करोड नेपाली रुपैयाँ) बराबरको सामान अमेरिका निर्यात गरेको भारतको सरकारी तथ्यांकले देखाएको छ । अप्रिल २०२४ देखि डिसेम्बर २०२४ सम्म अमेरिकामा भारतको निर्यातको आँकडा हेर्दा व्यापार तनाव पनि बढ्ने देखिएको छ ।

चालु आर्थिक वर्षको पहिलो नौ महिनामा भारतको अमेरिकातर्फको निर्यात ५.५७ प्रतिशतले बढेको छ । पछिल्लो नौ महिना (अप्रिल–डिसेम्बर)मा भारतको अमेरिकातर्फको वस्तु निर्यात ५.५७ प्रतिशतले बढेर ५९ अर्ब ९३ करोड अमेरिकी डलर पुगेको छ । अमेरिकी बजारमा भारतीय उत्पादनको बढ्दो मागका कारण निर्यातमा वृद्धि भएको तथ्यांकअनुसार डिसेम्बरमा भारतको अमेरिकातर्फको निर्यात ८.४९ प्रतिशतले बढेर ७ अर्ब डलर पुगेको छ । चालु आर्थिक वर्षको पहिलो नौ महिनामा अमेरिकाबाट भारतको आयात १.९१ प्रतिशतले बढेर ३३.४ अर्ब डलर पुगेको छ । जहाँ डिसेम्बरमा ९.८८ प्रतिशतले बढेर ३ अर्ब ७७ करोड डलर पुगेको छ ।

अहिलेको प्रवृत्तिलाई हेर्दा आगामी महिनामा दुई देशबीचको व्यापार अझै बढ्ने विज्ञहरू बताउँछन् । अप्रिल–डिसेम्बरमा दुई देशबीचको द्विपक्षीय व्यापार ९३.४ अर्ब डलर रहेको छ भने सोही अवधिमा भारत र चीनबीचको व्यापार ९४.६ अर्ब डलर रहेको छ । अमेरिका र चीनबीचको सम्भावित व्यापार युद्धले भारतीय निर्यातकर्ताका लागि ठूलो अवसर सिर्जना गर्ने विज्ञहरुको विश्वास छ । सन् २०२१–२२ देखि अमेरिका भारतको सबैभन्दा ठूलो व्यापार साझेदार हो । भारतको कुल वस्तु निर्यातमा अमेरिकाको हिस्सा करिब १८ प्रतिशत छ भने आयातमा छ प्रतिशतभन्दा बढी छ । जबकि द्विपक्षीय व्यापारमा यो करिब ११ प्रतिशत रहेको छ ।

केही विज्ञहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चेतावनी दिएझैं अमेरिकाले केही भारतीय सामानमा अतिरिक्त भन्सार लगाएमा व्यापारमा असर पर्ने चिन्ता व्यक्त गरेका छन् । आर्थिक अनुसन्धान संस्था ग्लोबल ट्रेड रिसर्च इनिसिएटिभ (जीटीआरआई)का संस्थापक अजय श्रीवास्तवले अमेरिकाले यस्तो कुनै कदम चालेमा भारतले कडा प्रतिक्रिया दिनुपर्ने बताए । सन २०१८ मा, जब अमेरिकाले भारतीय स्टील र एल्युमिनियममा कर लगायो भारतले २९ अमेरिकी उत्पादनहरूमा शुल्क बढाएर बदला लियो, जसको कारण भारतले बराबर राजस्व संकलन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्