Logo

पहिलो त्रैमासमा ३.४ प्रतिशत आर्थिक वृद्धिको अनुमान, विद्युत र पर्यटन क्षेत्र मुख्य प्रेरक

पहिलो त्रैमासमा ३.४ प्रतिशत आर्थिक वृद्धिको अनुमान, विद्युत र पर्यटन क्षेत्र मुख्य प्रेरक



काठमाडौं । केन्द्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिकमा ३.४ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान गरेकाे छ। कार्यालयले चालु आवकाे पहिलाे त्रैमासिक कुल गार्हस्थ्य उत्पादनमा आधारित प्रारम्भिक तथ्यांक सार्वजनिक गर्दै गत आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासिकको तुलनामा चालु आजमा याे आर्थिक वृद्धि हासिल हुने बताएकाे हाे । यसमा कृषि उत्पादन, विद्युत उत्पादन र वितरण, र पर्यटन क्षेत्रको योगदान मुख्य रहेको छ। साथै, यातायात, स्वास्थ्य सेवा, र सार्वजनिक प्रशासनको वृद्धिले समग्र अर्थतन्त्रलाई सुदृढ बनाएको देखिन्छ।

तर, गत आर्थिक वर्षको चौथो त्रैमासिकको तुलनामा चालु आवको पहिलो त्रैमासिकमा मात्र ०.२ प्रतिशतको वृद्धि अनुमान गरिएको छ। १८ ओटा औद्योगिक क्षेत्रमध्ये ६ ओटामा ऋणात्मक वृद्धि भएको देखिएको छ। यद्यपि, विद्युत र सूचना प्रविधि क्षेत्रले भने उल्लेख्य प्रगति हासिल गरेका छन्।

अर्थतन्त्रमा सबैभन्दा ठूलो हिस्सा ओगट्ने कृषि, वन, र मत्स्य क्षेत्रको वृद्धिदर तीन प्रतिशत रहेको छ। समयमा मल, उन्नत बीउको प्रयोग, र यथेष्ट मनसुनी वर्षाको कारण कृषिमा सकारात्मक प्रभाव परेको हो। तर, वर्षायाममा आएको बाढी र पहिरोले यो क्षेत्रको वृद्धि सीमित गरेको कार्यालयले जानकारी दिएको छ ।

औद्योगिक उत्पादनमा क्रमिक सुधार आएको देखिए पनि निर्माण क्षेत्रमा संकुचन देखिएको छ। निर्माणजन्य वस्तुको आयातमा आएको कमीले यो क्षेत्र प्रभावित भएको हो। यस्तै, थोक तथा खुद्रा व्यापार क्षेत्रले मात्र ०.५ प्रतिशतको वृद्धि हासिल गरेको छ।

प्रारम्भिक अनुमानअनुसार विद्युत तथा ग्यास क्षेत्रको वृद्धिदर २१.४ प्रतिशत छ, जो सबैभन्दा उच्च हो। यातायात र गोदाम क्षेत्र ६.७ प्रतिशतले दोस्रो स्थानमा रहँदा, आवास र भोजन सेवा क्षेत्रले ६.३ प्रतिशतको वृद्धि हासिल गरेको छ। वित्तीय र बीमा क्षेत्रको वृद्धिदर ५.७ प्रतिशत रहँदा पेशागत, वैज्ञानिक, र प्राविधिक सेवाले ५.१ प्रतिशतको वृद्धि देखाएका छन्।

शिक्षा, स्वास्थ्य, र घरजग्गा कारोबारजस्ता सेवा क्षेत्रको वृद्धिदर सामान्य रहेको छ। स्वास्थ्य क्षेत्रमा ४.१ प्रतिशत, घरजग्गामा ३.१ प्रतिशत, र शिक्षामा ०.४ प्रतिशतको वृद्धिदर अनुमान गरिएको छ।

नेपालको आर्थिक वृद्धिदर विगत केही वर्षमा अस्थिर देखिए पनि आर्थिक वर्ष २०७९/८० पछि सुधारात्मक दिशा लिन थालेको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा देखिएको सकारात्मक वृद्धिले अर्थतन्त्र सुधारोन्मुख भएको संकेत गरेको छ।

बाढी, पहिरो, र निर्माण क्षेत्रका चुनौतीहरूका बाबजुद विद्युत उत्पादन, कृषि, र पर्यटन क्षेत्रको योगदानले आर्थिक वृद्धिलाई सकारात्मक बनाएको छ। आगामी त्रैमासिकहरूमा यी चुनौतीहरूको समाधान गर्दै वृद्धि दरलाई थप मजबुत बनाउन रणनीतिहरू अपनाउन आवश्यक देखिन्छ।

प्रतिक्रिया दिनुहोस्