काठमाडौं । सुनको भारतमा निकै ठूलो परम्परागत र सांस्कृतिक महत्व रहेको छ । धनतेरस होस् वा अक्षय तृतीया, यस्ता चाडपर्वमा सुन किन्नु शुभ मानिन्छ । विवाह र अन्य चाडपर्वमा पनि सुन किन्ने गरिन्छ । महिलाहरु सुनका गहना लगाउन रुचाउँछन् । भारतीय महिला सुनको प्रयोग मात्र होइन खरीदमा पनि विश्वमै सबैभन्दा अगाडि छन् । अर्कोतर्फ भारतलगायत धेरै देशले पनि आ–आफ्नो देशमा सुन भण्डारण गर्छन् । सुनको भण्डार र सुनको उपयोग दुई फरक कुरा हुन् । प्रायः सबै देशहरुका केन्द्रीय बैंकहरुले सुनको भण्डारण गरेका छन् ।
भारतीय महिलासँग कति सुन छ ?
विश्व गोल्ड काउन्सिल (डब्लुजिसी) को प्रतिवेदन अनुसार भारतीय महिलासँग करिब २४ हजार टन (२४ मिलियन किलो) सुन रहेको छ । यो विश्वको कुल सुन भण्डारको ११ प्रतिशत बराबर हो । सुनको भण्डारको मामिलामा भारतीय महिलाले चीन, अमेरिका, जर्मनी र इटाली जस्ता देशलाई पछाडि पारेका छन् ।
भारतीय महिलाले सुनको स्वामित्वमा विश्वका शीर्ष ६ देशलाई पछाडि पारेका छन् । यति मात्र होइन, भारतीय महिलासँग अमेरिका र चीनलगायत प्रमुख सुन भण्डारण गर्ने ६ देशको भन्दा बढी सुन छ । भारतीय महिलाहरु यो सुन गहनाको रुपमा प्रयोग गर्छन । भारतीय महिलाको स्वामित्वमा रहेको सुनमा दक्षिणी राज्यमा बसोबास गर्ने महिलाको हिस्सा सबैभन्दा बढी छ । भारतका महिलाको स्वामित्वमा रहेको कुल सुनमध्ये ४० प्रतिशत दक्षिण भारतका महिलाको स्वामित्वमा छ । तमिलनाडुको मात्र हिस्सा करिब २८ प्रतिशत छ ।
भारतीय महिलाको स्वामित्वमा रहेको सुन आफ्नो घरमै वा बैंक लकरमा बन्द रहेको छ । धेरै विज्ञहरूले यसलाई मृत सम्पत्ति अर्थात डेड एसेटको रूपमा लिन्छन् । किनभने सुनमा यस प्रकारको लगानीमा न कुनै ब्याज वा लाभांश प्राप्त हुन्छ । अर्कोतर्फ, धेरै विज्ञहरूले यसलाई महत्वपूर्ण सम्पत्ति मान्छन् र यस्तोे सुन संकटको समयमा धेरै उपयोगी हुने धारणा राख्छन् ।
कोसँग कति सुन छ ?
सुनको भण्डारमा अमेरिका सबैभन्दा अगाडि छ । अमेरिकासँग ८१३३ टन सुन छ । जबकि चीनसँग २२६४ टन सुन रहेको छ भने भारतसँग ८५० टनभन्दा बढी सुनको भण्डार छ । यस्तै इटालीसँग २४५१ टन, जर्मनीसँग ३३६२ टन, फ्रान्ससँग २४३६ टन र रुससँग २२९८ टन सुन भण्डारण छ ।
पछिल्लो एक महिनादेखि सुनको मूल्यमा ठूलो उतारचढाव आएको छ । नोभेम्बरमा भएको अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्प विजयी भएका थिए । त्यसपछि सुनको भाउ ओरालो लाग्न थाल्यो किनभने उनले डलरलाई बलियो बनाउने उद्घोष गरेका छन् । तर, आगामी दिनमा सुनको भाउ अझै बढ्ने विज्ञहरुले प्रक्षेपण गर्दै आएका छन् ।