काठमाडौं । चालु आर्थिक बर्षको पहिलो ५ महिना (साउनदेखि मंसिरसम्म)मा नेपालमा संचालित जीवन बीमा कम्पनीहरुले पौने ६६ अर्ब बीमाशुल्क संकलन गरेका छन् ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा नेपालमा संचालित १४ जीवन बीमा कम्पनीहरुले १ करोड ३३ लाख ४२ हजार २ सय ४६ सक्रिय बीमालेखमार्फत ६५ अर्ब ७४ करोड १८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका हुन् ।
प्राधिकरणका अनुसार यस अवधिसम्म यी कम्पनीहरुले प्रथम बीमाशुल्कबापतमात्रै १२ अर्ब ४७ करोड रुपैयाँ संकलन गरेका छन् । यो वैदेशिक रोजगार बीमालेखमार्फत संकलन भएको बाहेकको बीमाशुल्क हो । यस अवधिमा जीवन बीमा कम्पनीहरुले १ अर्ब १८ करोड रुपैयाँ वैदेशिक रोजगार बीमाशुलक संकलन गरेका छन् । यस्तै यसै अवधिमा बीमा कम्पनीहरुले ५२ अर्ब ८ करोड रुपैयाँ नविकरणवातको बीमाशुल्क संकलन गरेको प्राधिकरणले जानकारी दिएको छ ।
चालु आवको ५ महिनासम्म नेपालमा संचालित जीवन बीमा कम्पनीहरुमध्ये नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा बढी १८ अर्ब ७६ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । यस्तै यसै अवधिमा नेशनल लाइफले ७ अर्ब ९८ करोड, लाइफ इन्स्योरेन्स कर्पाेरेसनले ७ अर्ब ६६ करोड, हिमालयन लाइफले ६ अर्ब ७९ करोड र सुर्यज्योति लाइफले ३ अर्ब ९९ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् ।
यस्तै यसै अवधिमा एशियन लाइफले ३ अर्ब ३६ करोड, सिटिजन लाइफले २ अर्ब ६५ करोड, सानिमा रिलायन्सले २ अर्ब ५९ करोड र मेट लाइफले २ अर्ब ३३ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको प्राधिकरणले जानकारी दिएको छ ।
प्राधिकरणका अनुसार अन्य जीवन बीमा कम्पनीहरुमध्ये यस अवधिमा राष्ट्रिय जीवन बीमा कम्पनीले २ अर्ब २५ करोड, प्रभु महालक्ष्मीले १ अर्ब ९४ करोड, रिलायवल नेपाल लाइफले १ अर्ब ९२ करोड, आइएमइ लाइफले १ अर्ब ८९ करोड र सन नेपाल लाइफले १ अर्ब ५७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।