काठमाडौं । अहिले विश्व सन २०२४ को समाप्ति र सन २०२५ को आगमनको संघारमा छ । ईश्वी संवतको वर्ष परिवर्तनलाई संसारभर व्यापकरुपमा बिदाई र स्वागत गर्ने परम्परा छ । तर, अहिले विश्वका धेरैजसो मानिसहरु बढ्दो मुद्रास्फिति, युद्धको प्रभाव र प्रविधिको विकाससम्मका कारण चिन्तित रहेको पाइन्छ । एक सर्वेक्षणमा मानिसहरुले अर्को वर्ष अर्थात सन् २०२५ मा के हुन सक्छ भनेर बताएका थिए ।
यो सर्वेक्षणले देखाउँछ कि मानिसहरू वातावरणीय र आर्थिक मुद्दाहरूको बारेमा चिन्तित छन् । सर्वेक्षण संस्था इप्सोसले ३३ देशका २३ हजार ७ सयभन्दा बढी उत्तरदातासँग आगामी वर्षका लागि उनीहरू के सोच्छन भन्नेबारे अन्तर्वार्ता लिएको थियो । सर्वेक्षणमा प्रविधि, वातावरण र विश्वव्यापी सुरक्षाजस्ता विषय समेटिएका थिए । यो तथ्यांक केवल एक सर्वेक्षणमा आधारित छ र यसमा विशेषज्ञ र विश्लेषकहरूबाट गहन जानकारी समावेश गरिएको छैन, तर यसले विभिन्न देश र क्षेत्रका मानिसहरूको सोच र भावनाको झलक दिन्छ ।
औसत वैश्विक तापमान वृद्धि हुनेछ
अधिकांश मानिसहरू (८०%) विश्वास गर्छन् कि पृथ्वीको तापमान अझ बढ्नेछ । जलवायु परिवर्तन सबैभन्दा बढी चिन्ताको विषय रहेको सर्वेक्षणले देखाएको छ ।
आयभन्दा छिटो मूल्य वृद्धि हुनेछ
धेरैजसो मानिसहरुमा (७९%) मुद्रास्फीतिको बारेमा चिन्ता छ । दुई तिहाइभन्दा बढी मानिस आम्दानीभन्दा खर्च छिटो बढ्ने विश्वास गर्छन् ।
एआईले धेरै रोजगारीहरू लिनेछ
दुई–तिहाई मानिसहरू (६५%)सोच्छन् कि एआईले धेरै रोजगारीहरू समाप्त गर्नेछ । प्रविधिको प्रभाव रोजगारीमा स्पष्ट देखिन्छ ।
अनलाइन र भर्चुअल जीवन अधिक
आधा भन्दा बढी (५९%) मानिसहरूले विश्वास गर्छन् कि अनलाइन र भर्चुअल जीवन अधिक हुनेछ । अर्थात्, जीवनमा आगामी वर्ष प्रविधिको प्रभाव अझ बढ्नेछ ।
संसारमा असहिष्णुता बढ्नेछ
केवल एक तिहाइ (३३%) ले मात्र मानिसहरुले एक–अर्कालाई अझ बढी सहने आशा गर्छन् । समाजमा एकताको कमीप्रति चिन्ता छ र अधिकांश मानिसहरू संसारमा असहिष्णुता बढ्नेछ भन्ने सोच्छन् ।
नयाँ महामारीको डर
लगभग आधा मानिसहरू (४७%) ले सन २०२५ नयाँ महामारी आउन सक्छ भन्ने सोच्छन् । धेरैमा कोरोनाको सम्झना अझै ताजा छ र यसको डरपनि कायमै छ ।
मध्यपूर्वको द्वन्द्व समाधान हुने आशा कम
२२ प्रतिशत मानिसहरु मात्र मध्यपूर्वको द्वन्द्व समाधान हुनेमा विश्वस्त छन् । यो क्षेत्र सधैं समस्याग्रस्त रहँदै आएको छ । सन् २०२५ मा शान्तिको आशा क्षीण रहेको धेरैको अभिमत छ ।
युक्रेन युद्ध अझ बढने
केवल एक चौथाई मानिसहरू (२७%) ले विश्वास गर्छन् कि युक्रेन युद्ध २०२५ मा समाप्त हुनेछ । यो विषय अझै पनि गम्भीर खतरामा फसेको छ र मानिसहरूलाई डर छ कि युद्ध थप बढ्न सक्छ ।