काठमाडौं । प्लास्टिक प्रदूषणसम्बन्धी विश्वव्यापी सन्धिको प्रयास असफल भएको छ । दक्षिण कोरियाको बुसानमा भएको वार्ताको एक साता बितिसक्दा पनि दुई देशबीच कुनै सहमति हुन सकेको छैन । प्रमुख मुद्दाहरूमा गहिरो असहमतिका कारण निर्णय स्थगित गरिएको छ । अब अर्को चरणमा वार्ता हुनेछ । यो बैठकलाई प्लास्टिक प्रदूषण नियन्त्रणका लागि ठूलो कदम मानिएको छ । तर धेरै देशबीच आधारभूत विषयमा सहमति हुन सकेको छैन । ‘स्पष्टरूपमा अझैपनि गम्भीर भिन्नताहरू छन्,’ संयुक्त राष्ट्र वातावरण कार्यक्रमका निर्देशक इनगर एन्डरसनले भने ।
मुख्य विवादहरू
पनामाको नेतृत्वमा १०० भन्दा बढी देशहरू प्लास्टिक उत्पादनमा प्रतिबन्ध लगाउन चाहन्छन् । उत्पादन नघटाएसम्म प्रदूषण रोक्न नसकिने उनको भनाइ छ । जस्तै इयूका विशेष दूत एन्थोनी अगोथाले भने,‘यदि धारा खुला छ भने भुइँ पुछनुको कुनै मतलब छैन ।’ तर साउदी अरेबिया, इरान र रुस जस्ता तेल उत्पादक देशहरूले यसको विरोध गरिरहेका छन् । उनीहरुले सन्धिको लक्ष्य प्लाष्टिक उन्मूलन नभई यसको फोहोर व्यवस्थापन गर्ने भएको बताए । कुवेतका प्रतिनिधिले भने, ‘प्लास्टिकले समाजलाई धेरै फाइदा पु¥याएको छ, यसलाई पूर्णरूपमा हटाउनु ठीक होइन ।
रुवाण्डा र नर्वेको नेतृत्वमा रहेको उच्च महत्वाकांक्षा गठबन्धन (एचएसी) ले खतरनाक रसायनहरूमा प्रतिबन्ध लगाउन चाहन्छ । फिजीका प्रतिनिधिले यसलाई सबैभन्दा महत्वपूर्ण बताए । संयुक्त राष्ट्रसंघको प्रतिवेदनअनुसार प्लास्टिकमा ३,२०० भन्दा बढी खतरनाक रसायनहरू हुन्छन्, जुन विशेषगरी महिला र बालबालिकाका लागि हानिकारक हुन्छन् । तर केही देशले यसलाई अस्वीकार गरेका छन् । पहिले नै विद्यमान अन्तर्राष्ट्रिय सम्झौता र राष्ट्रिय नियम नै पर्याप्त रहेको उनीहरुको भनाइ छ । सेन्टर फर इन्टरनेशनल इन्भायरमेन्टल लका अनुसार बुसानमा भएको वार्तामा तेल र रसायन उद्योगका २०० भन्दा बढी लबिस्टहरू उपस्थित थिए ।
पैसाको समस्या
सन्धि कार्यान्वयन गर्न विकासोन्मुख देशहरूले आर्थिक सहयोग मागेका थिए । तर, धनी देशहरूले यो कुरामा सहमत भएनन् । आर्थिक मामिलाको मस्यौदामा धेरै विरोधाभासी विकल्पहरू छन् । चिनियाँ प्रतिनिधिले भने, ‘सन्धिले देशहरू बीचको भिन्नतालाई ध्यानमा राख्नुपर्छ र समानताहरू प्रतिबिम्बित गर्नुपर्छ ।’ प्रक्रियालाई लिएर पनि विवाद भयो । साउदी अरेबिया र अन्य देशहरूले पटक–पटक वार्ता स्थगित गर्ने प्रयास गरे । जसका कारण महत्वपूर्ण विषयमा छलफल सुस्त भएको छ । साउदी प्रतिनिधि अब्दुररहमान अल–ग्वाजले भने, ‘अहिले कुनै सम्झौता थिएन । मस्यौदामा केही अनुच्छेदहरू सम्मिलित गरिएको थियो, जबकि हामीले यसको निरन्तर विरोध गर्यौं ।’ सेनेगलका प्रतिनिधि चेख एनडिया सिल्लाले मतदानको व्यवस्था नहुँदा वार्ता स्थगित भएको बताए ।
समस्या गम्भीर छ
प्लास्टिक प्रदूषणको असर जताततै देखिन्छ । हावा, पानी र आमाको दूधमा पनि माइक्रोप्लास्टिक पाइएको छ । उत्पादन र फोहोरलाई रोकिएन भने सन् २०५० सम्ममा प्लास्टिकको उत्पादन तेब्बर हुने विज्ञहरू बताउँछन् । पानामाका प्रतिनिधि जुआन कार्लोस मोन्टेरे गोमेजले भने, ‘हरेक दिनको ढिलाइ मानवता विरुद्ध हो । संकटले पर्खिनेछैन ।’ अब यी विषयमा अर्को बैठकमा छलफल हुनेछ । यो बैठक मध्य २०२५ मा हुन सक्छ । यो सन्धि पेरिस सम्झौतापछि वातावरण संरक्षणमा सबैभन्दा महत्वपूर्ण कदम हुन सक्छ । तर, अब प्रश्न यो छ कि सबै देशहरू समयमै सहमत होलान कि नहोलान ? अनुवाद गरिएको