काठमाडौं । चालु आर्थिक बर्षको पहिलो ३ महिनासम्म आयात निर्यात व्यापार नै ओरालो लागिरहेको भएपनि चौथो महिनामा भने सुधार देखिएको छ । भन्सार विभागले शुक्रबार चालु आवको पहिलो ४ महिनाको तथ्यांक सार्वजनिक गर्दै वैदेशिक व्यापारमा केहि सुधार भएको बताएको हो ।
तथ्यांक अनुुसार चालु आवको पहिलो चार महिनामा गत आवको सोही अवधिको तुलनामा आयात ०.१७ प्रतिशतले बढ्दा निर्यातको व्यापार ४.१६ प्रतिशतले उकालो लागेको छ । चालु आवको कार्तिकसम्म नेपालमा ५ खर्ब १३ अर्ब ३८ करोड ८० लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।
गत आर्थिक बर्षको यहि अवधिमा नेपालमा ५ अर्ब १२ अर्ब ५० करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । यता निर्याततर्फ भने गत आवको पहिलो ४ महिनामा ५० अर्ब ५६ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएकोमा चालु आवको सोही अवधिमा बढेर ५२ अर्ब ६७ करोड रुपैयाँ पुगेको हो ।
यता व्यापारघाटा भने केहि ओरालो लागेको भन्सार विभागले जानकारी दिएको छ । गत आर्थिक बर्षको पहिलो ४ महिनामा ४ खर्ब ६१ अर्ब रुपैयाँ बराबरको व्यापारघाटा व्यहोरेकोमा चालु आवको पहिलो ४ महिनामा घटेर ४ खर्ब ६० अर्ब रुपैयाँमा सीमित भएको हो ।