Logo

अब नेपाल लगानीका लागि पूर्ण सुरक्षित छ भन्ने प्रमाणित भयो : अर्थमन्त्री पौडेल

अब नेपाल लगानीका लागि पूर्ण सुरक्षित छ भन्ने प्रमाणित भयो : अर्थमन्त्री पौडेल



काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अब नेपालमा लगानी गर्न सुरक्षित र प्रतिफलयुक्त रहेको प्रमाणित भएको बताएका छन् । बिहीबार फिच रेटिङले नेपालमो सार्वभौम कन्ट्री रेटिङ गर्दै नेपाललाई डबल बी माइनस रेटिङ दिएको छ । उक्त रेटिङले अब नेपाल लगानीयोग्य देशका रुपमा सावित भएको र लगानीकर्ताहरुले नेपालमा निर्धक्कसँग लगानी गर्न सकिने बताएका हुन् ।

फिच रेटिङले सार्वजनिक गरेको रेटिङका बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा शुक्रबार उनले यो रेटिङले नेपालको अवस्था के हो र हामी कहाँ छौं भन्ने जानकारी दिएको बताए ।

‘नेपालको अर्थतन्त्र कुन अवस्थामा छ भन्ने प्रश्न लामो समयदेखि आईरहेको थियो, सार्वभौम क्रेडिट रेटिङ गर्नुपर्छ भन्ने माग पनि थियो’,उनले भने, ‘हामीले पहिलोपल्ट यो रेटिङ गराएका हौं ।’

नेपालले कन्ट्री रेटिङमा बीबी माईनस रेटिङ पाएको भन्दै उनले दक्षिण एशिया हेर्दा हाम्रा लागि यो उतकृष्ट कुरा रहेको बताए । ‘यो सुरुवात हो, अब हामी यसलाई निरन्तरता दिँदै जानेछौं, यो पहिलो एपिसोड हो,’ उनले भने, ‘यसले नेपालमा लगानी गर्न सुरक्षीत हुन्छ भन्ने सन्देश हामीले विश्वलाई बुझाएका छौं ।’

उनले नेपाल साँच्चै नै लगानीका दृष्टिकोषण राम्रो राष्ट्र रहेको रेटिङले प्रमाणित गरिदिएको बताए । ‘यहाँ लगानी गर्दा प्रतिफल पनि राम्रो हुने फिचले देखाएको छ’ उनले भने, ‘सोही अनुसार नेपालमा लगानी गर्न म विदेशी निजी क्षेत्रलाई आग्रह गर्दछु ।’

फिचले केहि सुझाव पनि दिएको बताउँदै उनले ति सुझावहरु कार्यान्वयन गर्दै जाने बताए । अब फिचले क्रेडिट रेटिङ दिलाएसँगै नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) बढ्ने निश्चित भएको उनको भनाई छ । उनले अब नेपाल बी बी माईनसमा मात्र नरोकिएर अझै यो रेटिङलाई सुधार गर्दै जाने प्रतिवद्धता जनाए ।

पत्रकार सम्मेलनमा अर्थसचिव रामप्रसाद घिमिरेले फिच रेटिङले हामी कहाँ छौं भन्ने कुरा दर्शाएको बताए । विदेशी लगानीकर्ताहरुले अब नेपालमा लगानी भित्र्याउँदा ढुक्क हुनेरहेछ भन्ने सूचना दिएका उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्