Logo

आणविक युद्धको जोखिममा विश्व, रुस र अमेरिकाको नयाँ नीति विश्वका लागि कति घातक ?

आणविक युद्धको जोखिममा विश्व, रुस र अमेरिकाको नयाँ नीति विश्वका लागि कति घातक ?



काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मंगलबार आफ्नो आणविक नीतिमा ठूलो परिवर्तन गरेका छन् । अब रसियाले कम खतरामा पनि परमाणु हतियार प्रयोग गर्न सक्छ । यो निर्णय अमेरिकाले युक्रेनलाई रुसलाई लामो दुरीको मिसाइलले आक्रमण गर्न अनुमति दिएपछि आएको हो । नयाँ नीतिअनुसार यदि रुसमाथि कुनै पनि प्रकारको परम्परागत आक्रमण भयो र कुनै पनि आणविक शक्ति सम्पन्न देश त्यससँग जोडिएमा रुसले परमाणु हतियारले जवाफ दिन सक्नेछ ।

रुसी रक्षा मन्त्रालयले मंगलबार युक्रेनले रुसको ब्रायन्स्क क्षेत्रमा रहेको सैन्य आधार शिविरमा अमेरिकी निर्मित एटीएसीएमएस मिसाइल आक्रमण गरेको जनाएको छ । त्यसमा ६ वटा मिसाइल प्रहार गरिएको थियो । रुसले पाँचवटा क्षेप्यास्त्रलाई रोक्यो तर एउटा क्षेप्यास्त्र जमिनमा पुग्न सफल भयो र क्षति पुर्यायो । युक्रेनले रुसी हतियार भण्डारमा आक्रमण गरेको बताएको छ ।

रुसी विदेशमन्त्री सर्गेई लाभरोभले यो आक्रमणलाई ठूलो कदम भनेका छन् । ब्राजिलमा भएको जी२० बैठकका क्रममा उनले भने, ‘यदि युक्रेनबाट रुसमाथि लामो दूरीको मिसाइल प्रहार गरियो भने यसको अर्थ उनीहरूलाई अमेरिकी सैन्य विज्ञहरूको समर्थन छ । हामी यसलाई पश्चिमाद्वारा युद्धको नयाँ चरणको रूपमा लिनेछौं र यसको जवाफ दिनेछौं ।’

रुसको नयाँ नीतिमा आणविक हतियारको प्रयोगका लागि शर्त बढाइएको छ । आणविक राष्ट्रको समर्थनमा साधारण आक्रमण भएपनि त्यसलाई रुसमाथिको ‘संयुक्त आक्रमण’ मानिने उल्लेख छ । नीतिमा यो पनि भनिएको छ कि यदि रूसमा ठूलो मात्रामा हवाई आक्रमण भयो भने उसले आणविक हतियार प्रयोग गर्न सक्छ । यसमा ब्यालिस्टिक मिसाइल, क्रुज मिसाइल र ड्रोन जस्ता हतियारहरू समावेश छन् । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले वर्तमान अवस्थालाई ध्यानमा राखेर यी परिवर्तनहरू गरिएको बताए । उनले भने, ‘पुटिनले यो वर्षको सुरुमा वर्तमान परिस्थितिअनुसार नीति परिवर्तन गर्न निर्देशन दिएका थिए ।’

रुसको नयाँ नीतिको अमेरिकाले आलोचना गरेको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले रुसले आणविक हतियारको धम्की दिएर युक्रेन र विश्वलाई डराउने प्रयास गरिरहेको बताएका छन् । बेलायती प्रधानमन्त्री कियर स्टारमरले पनि रुसको आलोचना गरेका छन् । उनले भने, ‘यो युद्धको एक हजार दिन हो । रुसको आक्रमण एक हजार दिनदेखि जारी छ । हाम्रो समर्थन युक्रेनलाई सधैं रहने ।’ जर्मन विदेशमन्त्री एनालेना बेरबकले पनि आफ्नो देश रुससँग नडराएको बताइन् । उनले भनिन कि यो परिवर्तनले रुसको परम्परागत सैन्य बल नाटोको तुलनामा कमजोर रहेको देखाउँछ ।

जी२० बैठकमा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई रुसमाथि दबाब दिन अपील गरेका थिए । म्याक्रोनले रुसमा उत्तर कोरियाली सेनाको आवतजावतले स्थितिलाई थप खतरनाक बनाउँदै गएको बताए । उनले भने, ‘आणविक संकट रोक्न चीनले ठूलो भूमिका खेल्न सक् । मैले सी जिनपिङलाई युद्ध रोक्न पुटिनलाई अपील गर्न भने ।’

रुसको नयाँ नीतिका कारण आणविक युद्धको जोखिम बढेको छ । रुसले कहिले र कसरी आणविक हतियार प्रयोग गर्ने भन्ने नयाँ नीतिमा स्पष्ट छैन । तर, यो पश्चिमी देशहरूलाई डराउने र युक्रेनलाई दिइने सहायता रोक्ने प्रयास भएको रुस विरोधीहरुले बताइरहेका छन् ।

सन् २०२२ को फेब्रुअरीदेखि रुस–युक्रेन युद्ध जारी रहेको छ र १,००० दिनभन्दा बढी भइसकेको छ । नाटो देशहरू प्रत्यक्ष युद्धमा प्रवेश गरेका छैनन्, तर तिनीहरूले युक्रेनलाई हतियार र समर्थन प्रदान गरिरहेका छन् । नयाँ नीतिले कुनै पनि गलत कदम चालिएमा त्यसले गम्भीर परिणाम निम्त्याउन सक्ने चिन्ता विश्वव्यापी रूपमा उठाएको छ । अनुवाद गरिएको

प्रतिक्रिया दिनुहोस्