काठमाडौं । अमेरिकी राष्ट्रिय ऋण इतिहासमा पहिलो पटक ३६ ट्रिलियन नाघेको छ । यूएस डेब्ट क्लकको जानकारी अनुसार जनवरीदेखि नोभेम्बर सम्म यो संख्या लगभग ६% ले बढेको छ, । यसको मतलब चार महिनाभन्दा कममा १ ट्रिलियनले ऋण वृद्धि भएको छ । जुलाईको अन्त्यमा अमेरिकी ट्रेजरीले ऋण ३५ ट्रिलियन डलर नाघेको घोषणा गरेको थियो ।
विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश अमेरिकाको ऋण ३६ ट्रिलियन डलर नाघेसँगै देशका प्रत्येक नागरिकको थाप्लोमा १ लाख ७ हजार डलर अर्थात् ऋण रहेको छ । यो ऋण प्रति करदाता २ लाख ७२ हजार डलरब बढी पुगेको छ । गत वर्ष अक्टोबरमा अमेरिकाको ऋण ३३.६८ ट्रिलियन डलर थियो । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिकाको ऋण पछिल्लो २४ वर्षमा ६ गुणा बढेको छ । अमेरिकाको सन् २००० मा ५.७ ट्रिलियन डलर ऋण थियो, जुन २०१० मा १२.३ ट्रिलियन डलर र २०२० मा २३.२ ट्रिलियन डलर पुगेको थियो ।
अमेरिकी कंग्रेसको बजेट कागजातअनुसार आगामी दशकसम्म देशको ऋण ५४ ट्रिलियन डलर पुग्ने अनुमान गरिएको छ । केवल तीन महिनामा यो एक ट्रिलियन डलर भन्दा बढी भएको छ । यो देशको जिडिपी को लगभग १२५ प्रतिशत हो । पछिल्लो तीन वर्षमा मात्रै देशको ऋण १० ट्रिलियन डलरभन्दा बढीले बढेको छ । अमेरिकाले दैनिक १ अर्ब ८ करोड डलर ब्याज तिर्न खर्च गर्नुपर्ने अवस्था आएको छ । सरकारले वार्षिक १ ट्रिलियन डलरभन्दा बढी ब्याज मात्रै तिर्नुपर्ने हुन्छ । यसको मतलब संघीय कर राजस्वको २३ % ब्याज तिर्न खर्च हुँदैछ ।
अमेरिकी राष्ट्रपति चुनावमा देशको ऋण प्रमुख मुद्दा बनेको थियो । सरकारको आम्दानी घटेको छ र खर्च बढेको छ । विज्ञहरूका अनुसार यो अमेरिकाको अर्थतन्त्र र राष्ट्रिय सुरक्षाका लागि राम्रो कुरा होइन । यदि ऋण यसरी बढिरह्यो भने, अमेरिकाको ऋण–जीडीपी अनुपात आगामी केही वर्षहरूमा २००% पुग्न सक्छ । देशको ऋण अर्थतन्त्रको दोब्बर पुग्नेछ । यस्तो भयो भने अमेरिकी बजेट ऋण चुक्ता गर्नमैसकिनेछ । सरकारले अनुसन्धान तथा विकास, पूर्वाधार र शिक्षामा कूल खर्चभन्दा ब्याज तिर्न बढी खर्च गर्नुपर्नेछ । जसका कारण सरकारले सामाजिक सुरक्षामा हुने खर्च कटौती गर्नुपर्ने हुनसक्छ । देशको अर्थतन्त्र राम्रो अवस्थामा रहेको र बेरोजगारी न्यून रहेको बेला अमेरिकाको ऋण वृद्धि चिन्ताको विषय हो । सामान्यतया अर्थतन्त्र कमजोर हुँदा सरकारले आर्थिक वृद्धि बढाउन खर्च बढाउँछ ।
बेलायती वित्तीय सञ्चारमाध्यम–फिनबोल्डले सन् २०२२ को तथ्यांकका आधारमा अमेरिकी सरकारले हरेक दिन ६ अर्ब डलरको ऋण भार खेपिरहेको जनाएको छ । अमेरिकी संगठन कमिटी फर ए रेस्पोन्सिबल फेडरल बजेटकी अध्यक्ष माया म्याकगिनेसले भनेकी छिन्–‘यो यस्तो रेकर्ड (ऋण) हो जसमा कुनै पनि अमेरिकीलाई गर्व हुँदैन ।’ गत साता पछिल्लो तथ्यांक सार्वजनिक भएपछि अमेरिकी पत्रकार जोन स्टोसेलले यो ऋणको बोझलाई सही ढंगले सम्हाल्न नदिने अवस्था अमेरिका र बाँकी विश्वका लागि दुःस्वप्न जस्तै हुने धारणा व्यक्त गरेका थिए ।
अमेरिकी अखबार वाल स्ट्रीट जर्नलले गत महिना लेखेको थियो कि अमेरिकाको राष्ट्रिय ऋणको ब्याजमा तीव्र वृद्धिले यस्तो अवस्था सिर्जना गरिरहेको छ जसलाई अर्थशास्त्रीहरूले ‘डूम लूप’ भनेका छन् । सरकारले ब्याज तिर्न नयाँ ऋण लिनुपर्ने अवस्था छ । यसले ब्याजको बोझ बढाउँछ र त्यसलाई तिर्नका लागि बढी ऋण लिनुपर्छ । बढ्दो ऋणको चिन्ताले विज्ञहरूलाई लामो समयदेखि सताउँदै आएको छ ।
गत वर्ष थिंक ट्याङ्क पिटरसन इन्स्टिच्युट फर इन्टरनेशनल इकोनोमिक्सका वरिष्ठ फेलो ज्याक किर्कगार्डले भ्वाइस अफ अमेरिकासँगको कुराकानीमा भनेका थिए–यदि कुनै कारणले अमेरिकी सरकारले ऋण चुक्ता गर्न नसक्ने वा ऋण तिर्न असक्षम भएको बताएको खण्डमा विश्व वित्तीय प्रणालीमा त्यसको प्रभाव टाइम बम विस्फोट जस्तै हुनेछ । यसले विश्वव्यापी व्यापारमा ठूलो गिरावट र विश्वव्यापी रिजर्भ मुद्राको रूपमा डलरको स्थिति समाप्त हुनेछ । ऋणको मात्रा अझै बढे अमेरिकी सरकारको ऋण तिर्न सक्ने क्षमतामा लगानीकर्ताको विश्वास घट्न सक्ने विज्ञहरूले बताएका छन् । जसका कारण अमेरिकाले महँगो ब्याजदरमा नयाँ ऋण लिनुपर्ने भएको छ । यसले ऋणको दुष्चक्र थप गम्भीर बनाउँछ ।