काठमाडौं । नेपाललाई पेट्रोलियम पदार्थ आपूर्ति गर्दै आएको भारतको सरकारी कम्पनी भारतीय आयल कर्पोरेशन (आईओसी) को नाफामा ठूलो गिरावट आएको छ । सेप्टेम्बर २०२४ मा समाप्त भएको दोस्रो क्वाटरमा कम्पनीको यस्तो रिपोर्ट आएको हो । गत वर्ष यो त्रैमासमा कम्पनीको नाफा १२,९६७ करोड भारतीय रुपैयाँ थियो । यसपटक ९९ प्रतिशतले घटेर १८० करोड भारतीय रुपैयाँमात्रै भयो ।
कम्पनीको आम्दानी पनि वार्षिक ४ प्रतिशतले घटेको छ । यो गत वर्ष २.०२ लाख करोड रुपैयाँबाट घटेर १.९५ लाख करोड भारतीय रुपैयाँमा झरेको छ । मनसुन सिजनमा इन्धनको मागमा आएको कमी र विश्वमा कच्चा तेलको मूल्यमा आएको गिरावटका कारण नाफामा यो ठूलो गिरावट आएको आईओसीले जनाएको छ ।
इन्डियन आयल कर्पोरेशन (आइओसी) भारतको सबैभन्दा ठूलो तेल र ग्यास कम्पनी हो । यो भारतमा पेट्रोल, डिजेल, एलपीजी, पेट्रोकेमिकल र अन्य तेल उत्पादनहरूको सबैभन्दा ठूलो उत्पादक र वितरक हो । आईओसीले जुलाई–सेप्टेम्बर २०२४ क्वाटरसम्म ३७७३ करोडको विक्री रिपोर्ट गरेको छ । कम्पनीको नाफा अघिल्लो त्रैमासिक (जुन २०२४) को तुलनामा ९३ प्रतिशतले घटेको छ । जबकि आम्दानी १० प्रतिशतले घटेको छ । कुल खर्च भने बढेको छ । यो अघिल्लो वर्षको सोही अवधिमा १.८६ लाख करोड रुपैयाँको तुलनामा बढेर १.९७ लाख करोड रुपैयाँ पुगेको छ । आइओसीको ग्रस रिफाइनिङ मार्जिन (जिआरएम) अप्रिल–सेप्टेम्बर २०२४ को अवधिमा प्रति ब्यारेल ४.०८ डलरमा घट्यो । गत वर्षको सोही अवधिमा प्रतिब्यारेल १३.१२ डलर थियो । जिआरएमले कच्चा तेललाई पेट्रोल र डिजेल जस्ता इन्धनमा रूपान्तरण गर्दा हुने नाफा मापन गर्छ ।
नाफामा किन यस्तो तीव्र गिरावट आयो ?
भारत विश्वको तेस्रो ठूलो तेल आयातकर्ता र उपभोक्ता हो । जुनदेखि सुरु हुने चार महिनाको मनसुन सिजनमा सामान्यतया इन्धनको माग घट्ने गर्छ । यस अवधिमा विभिन्न क्षेत्रमा बाढीका कारण यातायात प्रभावित हुने गरेको छ । यसले इन्धनको माग घटाउँछ । यस वर्षको अगस्ट र सेप्टेम्बरमा भारतमा इन्धन खपतमा गिरावट आएको थियो । सेप्टेम्बरमा यो दुई वर्षको सबैभन्दा न्यून स्तरमा पुगेको थियो ।
विश्वव्यापीरूपमा सेप्टेम्बरमा समाप्त त्रैमासिकमा कच्चा तेलको मूल्य लगभग १७% ले घटेको छ । समग्र रुपमा आईओसीले दोस्रो त्रैमासिकमा २२९ करोड रुपैयाँको शुद्ध घाटा रिपोर्ट गरेको छ । जहाँ अघिल्लो वर्षको सोही त्रैमासमा १३ हजार ७१३ करोड रुपैयाँ नाफा कमाएको थियो । सोमबार एनएसईमा आईओसीको शेयर ०.४% घटेर १४५.७४ रुपैयाँमा बन्द भएको थियो ।