काठमाडौं । पछिल्लो समय नेपालको वैदेशिक व्यापार लगातार ओरालो लाग्ने क्रममा रहेको देखिएको छ । भन्सार विभागले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक बर्षको पहिलो ३ महिना (साउन–असोज)सम्म गत आवको सोही अवधिको तुलनामा समग्र वैदेशिक व्यापार ४.३५ प्रतिशतले घटेको छ ।
गत आर्थिक बर्षको पहिलो ३ महिनामा कुल ४ खर्ब ४८ अर्ब ६३ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको नेपालले चालु आवको पहिलो ३ महिनामा ४ खर्ब २९ अर्ब रुपैयाँ बराबरको मात्रै वैदेशिक व्यापार गरेको हो ।
यस अवधिमा नेपालले गर्ने आयातको व्यापार ४.१७ प्रतिशतले घट्दा निर्यात व्यापार ६.११ प्रतिशतले घटेको छ । पछिल्लो समय नेपालमा देखिएको युवा पलायन र औद्योगिक उत्पादनमा आएको कमीले वैदेशिक व्यापारमा नकारात्मक असर पारेको सम्बद्ध विज्ञहरु बताउँछन् ।
नेपालमा वस्तु उपयोग गर्ने जनसंख्यामा निरन्तर आएको कमीका कारण पछिल्लो समय चाडबाडको मुखमा पनि उल्लेख्य वस्तु आयात हुन नसकिरहेको देखिन्छ । नेपालमा धेरैजसो दैनिक उपभोग्यका वस्तुहरु दशैं, तिहारलगायतका चाडबाडमा उपभोग हुने गरेको छ । तर, पछिल्ला बर्ष चाडबाडकै बेलामा पनि वस्तुको खपत न्यून हुँदा वैदेशिक व्यापार लगातार ओरालो लाग्ने क्रममा छ ।
आयातकै कुरा गर्दा गत आर्थिक बर्षको पहिलो ३ महिनामा ४ खर्ब ७ अर्ब रुपैयाँ बराबरको वस्तु आयात गरेको नेपालले चालु आवको सोही अवधिमा जम्मा ३ खर्ब ९० अर्ब रुपैयाँ बराबरको वस्तु मात्रै आयात गरेको देखिन्छ । यता निर्यात व्यापारको अवस्था पनि त्यस्तै छ । गत आवको पहिलो त्रैमासमा ४० अर्ब ८७ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेको नेपालले चालु आवको सोही अवधिमा जम्मा ३८ अर्ब ३७ करोड रुपैयाँको मात्रै वस्तु निर्यात गरेको देखिन्छ ।