Logo

विश्वको सबैभन्दा धनी परिवार, जोसँग छ विश्वकै धनी एलन मस्कसँग भन्दा बढी सम्पत्ति

विश्वको सबैभन्दा धनी परिवार, जोसँग छ विश्वकै धनी एलन मस्कसँग भन्दा बढी सम्पत्ति



काठमाडौं । विश्वमा धनीहरुको सम्पत्ति कति छ भन्ने धेरैलाई चासोको विषय बन्छ । सेयर बजारमा उतारचढाव हुँदा धनीहरुको सम्पत्तिमा घटबढ हुन्छ र सबैभन्दा धेरै धनीको सूचीमा पनि फेरबदल हुन्छ । यद्यपि विश्वको सबैभन्दा धनी परिवारमा भने एउटा परिवारको सधैं वर्चश्व रहँदै आएको छ । जसको सम्पत्ति विश्वकै धनी एलन मस्कको सम्पत्ति भन्दा बढी छ । वाल्टन परिवारले विश्वको सबैभन्दा धनी परिवारका रुपमा आफुलाई अगाडि बढाइरहेको छ । यो परिवारको विश्वको सबैभन्दा ठूलो रिटेल कम्पनी वालमार्टमा ४७ प्रतिशत सेयर छ ।

ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार विश्वको सबैभन्दा धनी परिवार वाल्टन परिवारका तीन सदस्यले विश्वको सबैभन्दा ठूलो कम्पनी वालमार्ट इंकमा ४७ प्रतिशत हिस्सेदारी राखेका छन् । वालमार्टको स्थापना सन् १९६२ मा साम वाल्टनले गरेका थिए र उनको परिवारका तीन सदस्यको कुल सम्पत्ति १०० बिलियन डलरभन्दा बढी छ । यसमा साम वाल्टनका दुई छोरा र एक छोरी समावेश छन् ।

साम वाल्टनका छोरा जिम वाल्टन १०३ अर्ब डलरको सम्पत्तिका साथ विश्वका धनी व्यक्तिको सूचीमा १५ औं स्थानमा छन् । उनका भाइ रोब वाल्टन १०१ अर्ब डलरको कुल सम्पत्तिका साथ १६औँ र बहिनी एलिस वाल्टन १०० अर्ब डलरको सम्पत्तिसहित १७औँ स्थानमा छन् । एलिस वाल्टन विश्वकै धनी महिला हुन् । यो वर्ष यी तीनको नेटवर्थ ३०–३० अर्ब डलरले बढेको छ । साम वाल्टनका एक छोरा जोन वाल्टन छन्, जसको मृत्यु भएको छ । उनका छोरा लुकास वाल्टनसँग ३५.७ बिलियन डलर र श्रीमती क्रिस्टी वाल्टनको कुल सम्पत्ति १६.१ बिलियन डलर छ । यस परिवारका सदस्यहरूको कुल सम्पत्ति लगभग ३५६ बिलियन डलर छ, जुन संसारका सबैभन्दा धनी व्यत्ति एलोन मस्क (२६३ अर्ब डलर) भन्दा बढी हो ।

वालमार्ट राजस्वको हिसाबले विश्वको सबैभन्दा ठूलो कम्पनी हो । विश्वका १९ देशहरूमा यसका १०,५०० भन्दा बढी स्टोरहरू छन् । यस प्रमुख अमेरिकी रिटेल कम्पनीमा करिब २१ लाख कर्मचारी काम गर्छन् । यो विश्वका धेरै देशको जनसंख्याभन्दा बढी हो । यो संख्या चिनियाँ सेनामा कार्यरत सैनिकभन्दा बढी हो । चीनको सेनामा २० लाख सैनिक र अफिसर छन् । १९६२ मा साम वाल्टनद्वारा स्थापित यो कम्पनी अर्थात व्यवसाय उपभोक्तालाई छुट प्रदान गर्ने संस्कृतिमा आधारित रहँदै आएको छ । त्यसैले मन्दीको समयमा पनि यसको स्टक मूल्य सधैं बढेको थियो ।

प्रतिक्रिया दिनुहोस्