Logo

जीवन बीमा व्यवसायमा वृद्धि, २ महिनामा कम्पनीहरुले गरे ३० अर्ब बढी संकलन

जीवन बीमा व्यवसायमा वृद्धि, २ महिनामा कम्पनीहरुले गरे ३० अर्ब बढी संकलन



काठमाडौं । चालु आर्थिक बर्षको पहिलो २ महिना साउन र भदौमा नेपालमा संचालित जीवन बीमा कम्पनीहरुले ३० अर्ब माथिको बीमाशुल्क संकलन गरेका छन् ।

नेपाल बीमा प्राधिकरणले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार यो दुई महिनामा १४ जीवन बीमा कम्पनीहरुले ३० अर्ब ८ करोड ८२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको हुन् । यो गत आर्थिक बर्षको यहि अवधिको तुलनामा ३.२९ प्रतिशतले बढी हो । गत आवको यहि अवधिमा नेपालमा संचालित जीवन बीमा कम्पनीहरुले २९ अर्ब १२ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका थिए ।

चालु आवको पहिलो २ महिनामा जीवन बीमा कम्पनीहरुले प्रथम बीमाशुल्कमार्फत ५ अर्ब १२ करोड रुपैयाँ आर्जन गर्दा नविकरण बीमाशुल्कवापत २४ अर्ब ४६ करोड रुपैयाँ आर्जन गरेका हुन् । यसै अवधिमा बीमा कम्पनीहरुले १ करोड ३४ लाख बढी बीमालेख जारी गरेका छन् ।

पछिल्ले २ महिनामा नेपालमा संचालित जीवन बीमा कम्पनीहरुमध्ये नेपाल लाइफले सबैभन्दा बढी अर्थात ९ अर्ब ३ करोड ७३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

यस्तै यसै अवधिमा सिटिजन लाइफ १ अर्ब २७ करोड र रिलायबल लाइफले ८५ करोड ४७ लाख रुपैयाँ संकलन गरेका छन् । साउन र भदौमा नेशनल लाइफले ३ अर्ब ५८ करोड, एलआइसी नेपालले ३ अर्ब ३० करोड, हिमालयन लाइफले ३ अर्ब १० करोड, सूर्यज्योति लाइफले १ अर्ब ८४ करोड र एशियन लाइफले १ अर्ब ४७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन ।

प्राधिकरणका अनुसार यस अवधिमा रिलायन्स लाइफले १ अर्ब १० करोड, मेट लाइफले ९६ करोड, प्रभु महालक्ष्मीले ८७ करोड, आइएमई लाइफले ८२ करोड र सन नेपाल लाइफले ७७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । यस्तै यस अवधिमा राष्ट्रिय बीमा कम्पनी १ अर्ब ६ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्