Logo

तीन गुणाले बढ्यो विद्युतीय कारोबार, एकै महिना १२७ खर्ब बढीको भुक्तानी

तीन गुणाले बढ्यो विद्युतीय कारोबार, एकै महिना १२७ खर्ब बढीको भुक्तानी



काठमाडौं । पछिल्लो समय धेरैजसो मौद्रिक कारोबारहरु भौतिकभन्दा विद्युतीय प्रणालीबाट अत्याधिक हुँदै गएका छन् । हालै नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले पनि चालु आर्थिक बर्षको पहिलो महिनामै अत्याधिक रुपमा विद्युतीय कारोबार भएको देखाएको हो ।

केन्द्रिय बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक बर्षको पहिलो महिना साउनमा मात्रै विभिन्न विद्युतीय भुक्तानी प्रणालीहरुबाट १ सय २७ खर्ब बढीको भुक्तानी भएको देखिन्छ । यो गत आर्थिक बर्षको साउनको तुलनामा ३ गुणा बढी अर्थात ८३ खर्ब ७० अर्बले बढी हो । गत आवको साउनभरी विभिन्न माध्यमबाट ४३ खर्ब ६२ अर्ब रुपैयाँ बराबरको विद्युतीय भुक्तानी भएको थियो ।

चालु आवको साउनमा भएको विद्युतीय भुक्तानी हालसम्मकै उच्च भुक्तानी हो । अर्थात यसअघि प्रत्येक महिना ८८ खर्बभन्दा माथिको विद्युतीय भुक्तानी भएको देखिँदैन । गत आवको अन्तिम महिना असार मसान्तमा भने ८८ खर्ब ३३ अर्ब रुपैयाँ भुक्तानी भएको देखिन्छ । यसअघिका बर्षहरुमा मासिक विद्युतीय कारोबारको औसत रकम ५० खर्ब हाराहारीको मात्रै भएपनि चालु आवको पहिलो महिनामै भने उच्च विद्युतीय भुक्तानी भएको तथ्यांकले देखाउँछ ।

चालु आवको साउन महिनामा रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणालीबाट मात्रै १ सय ८ खर्ब रुपैयाँ बराबरको भुक्तानी भएको देखिन्छ । यो गत आर्थिक बर्षको साउनको तुलनामा ४ गुणा अर्थात ७९ खर्ब ३४ अर्ब रुपैयाँले बढी हो । यस्तै साउनमै इलेक्ट्रोनिक चेक क्लियरेन्स (इसीसी)मार्फत ५ खर्ब ३२ अर्ब रुपैयाँ बराबरको भुक्तानी हुँदा आइपीएसमार्फत १ खर्ब ७४ अर्ब रुपैयाँ बराबरको भुक्तानी भएको दृखिन्छ ।

साथै यसै अवधिमा कनेक्ट आइपीएसमार्फत ५ खर्ब २५ अर्ब, मोबाईल बैंकिङमार्फत ३ खर्ब ७३ अर्ब, वालेटमार्फत ४३ अर्ब, क्युआरमार्फत ६१ अर्ब र डेबिट कार्डमार्फत ९१ अर्ब रुपैयाँ बराबरको विद्युतीय भुक्तानी भएको देखिन्छ ।

यो तथ्यांकलाई आधार मान्दा गत आर्थिक बर्षको साउनको तुलनामा कनेक्ट आइपीएसमार्फत हुने भुक्तानी १ खर्ब ४७ अर्ब रुपैयाँले बढेको छ भने मोबाईल बैंकिङमार्फत हुने कारेबार १ खर्ब ३४ अर्ब रुपैयाँले बढेको देखिन्छ । यस्तै वालेटमार्फतको कारोबार २१ अर्बले, क्युआर कारोबार ३२ अर्बले, इसीसी कारोबार ३१ अर्ब, आइपीएस कारोबार ४२ अर्ब रुपैयाँले बढेको छ ।

चालु आवको पहिलो महिनामै भएको उच्च कारोबार त्यसको अघिल्लो महिना असारको तुलनामा भने करिव ३९ खर्ब रुपैयाँले बढी हो । अर्थात गएको असार महिनामा विद्युतीय भुक्तानी प्रणालीहरुबाट ८८ खर्ब ३३ अर्ब रुपैयाँ बराबरको भुक्तानी भएको थियो ।

असारको तुलनामा साउनमा आरटीजीएस प्रणालीमार्फत हुने भुक्तानी ४३ खर्ब ५१ अर्बले बढ्दा एटिएममार्फतको कारोबार, इसीसी, आइपीएस, कनेक्ट आइपीएस, डेबिट कार्ड, क्रेडिट कार्डबाट हुने भुक्तानीमा गिरावट आएको छ । यसको सट्टा वालेट कारोबार, इन्टरनेट बैंकिङ, मोबाईल बैंकिङ, क्युआर भुक्तानी, इकमर्श भुक्तानीलगायत बढेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्